२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह जम्मा ९.५ प्रतिशतले मात्र बढेको थियो । २०८२ फागुन महिनामा मात्रै १८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ ।
अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष डलरमा यस्तो आप्रवाह ७१ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भने केही फेरबदल देखिएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ रहेको छ ।
अर्कोतर्फ, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने वृद्धि भएको छ । अघिल्लो वर्षको आठ महिनामा २ लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष सोही अवधिमा २ लाख ५१ हजार ९८५ जनाले यस्तो स्वीकृति लिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij