२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ । यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ ।
तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनुपर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
‘त्यसका लागि हामी भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी) छलफलमा बस्दैछौं,’ सोमबार बिहान पराजुलीले भने ।
जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए ।
गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ । सुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन् ।
उपत्यकाका तीन जिल्लाले एकैसाथ र उही नियमका साथ निषेधाज्ञा घोषणा गर्ने गरेका छन् । अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ । दुई जिल्लामा मात्रै निषेधाज्ञा हुन बाँकी छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक अवस्थामा बाहेक घरबाट निस्किनसमेत पाइन्न । अटेर गरे जरिवाना तथा जेल सजायसम्म हुने कानुनी व्यवस्था छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij