Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

आज दिनभरको १९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको १९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 631
    Shares

    • images
    आज दिनभरको १९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन

    त्रिभूवन आर्मी क्लवका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् । लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवकार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेण्ड समय निकाल्दै पहिलो भए । हाफ म्याराथन (२१ किलोमिटर) महिलातर्फ पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सेकेन्ड मा दूरी पूरा गर्दै उपाधि जितिन् । उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई हराउँदै च्याम्पियन भएकी हुन् । ४२ किलोमिटर म्याराथनमा आर्मीकै खेलाडीले वर्चश्व जमाए । आर्मीका सुशीलकुमार शाही र नरेन्द्रसिंह राउत क्रमशः दोस्रो र तेस्रो भए । सुशीलकुमार दुई घण्टा १८ मिनेट १६ सेकेण्ड र नरेन्द्रसिंहले दुई घन्टा १९ मिनेट ५८ सेकेण्ड समय निकाले । चिनका वाङ ची (२.२१ः०५ सकेण्ड) चौथो, केन्याका जुलियस वाकोमे (२.२३.०० सकेण्ड) पाँचौँ, दलबहादुर कुुँवर (२.२४.०७ सकेण्ड) छैटौं, इशाह नुन्गु (२.२५ः४२ सकेण्ड) सातौं, कुलबहादुर बस्नेत (२ः२८.१७ सकेण्ड) आठौं, हरि रिमाल (२.२९ः२० सकेण्ड) नवौं र कर्णबहादुर रोकामगर (२ः३४.२० सकेण्ड) दशौं स्थानमा रहे ।

    २. मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका कुरा गरिरहनुपर्ने अवस्था दुःखद् रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानिसको ‘इनहेरेन्ट डिग्निटी’ (अन्तर्निहित मर्यादा) र आत्मसम्मान नै सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुभएको हो । महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षाको रूपमा मात्र नहेरी ‘मानवीय सुरक्षा’ को वृहत रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार भ्रुणको रक्षादेखि बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण सुरक्षाको प्रत्याभुति गर्नु राज्यको मूल दायित्व हो । उहाँले कानूनमा व्यवस्था भएपनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि व्यक्ति, संस्था र समग्र राज्य संरचना नै जिम्मेवार हुनुपर्ने बताउनु भयो । 

    ३. नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

    पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति घर छन् र नागरिकको आर्थिक अवस्था के छ भन्ने कुरा विगतमा केवल अनुमानका भरमा चल्ने गरेको थियो । तर अहिले महानगरले ‘प्राइमरी डेटा’ नै संकलन गरेर हरेक घरको विस्तृत विवरण तयार पारेको छ । यस तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाभित्र १ लाख ४८ हजार ७२५ घरहरू रहेका छन् । यो तथ्यांक संकलनका क्रममा कुन घर गरिबीको रेखामुनि छन्, को बेरोजगार छ, को रोजगार छ र कुन परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने सबै विवरण निकालिएको छ । यसै तथ्याङ्कका आधारमा पोखरालाई नेपालको सबैभन्दा धनी शहरको रूपमा स्थापित गर्न र लक्षित वर्गका लागि प्रभावकारी योजना बनाउन सजिलो भएको मेयर आचार्यले बताउनु भयो । 

    ४. देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् । चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् । त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् । 

    ५. इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

    इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । एक महिना लामो पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै आज यो पर्व मनाउने परम्परा रहेको छ । आज बिहानैदेखि काठमाडौंको घण्टाघरस्थित जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा इस्लाम धर्मावलम्वीहरूको ठूलो उपस्थिति रहेको छ । मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्दै उनीहरूले देशमा शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् । इदको अवसरमा आज बिहानै नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर मस्जिद जाने र सामूहिक प्रार्थना गर्ने गरिन्छ । प्रार्थनापछि एक–अर्कालाई अँगालो हालेर ‘इद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ । 

    ६. इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन

    सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो । उनीहरुले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    ७. ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा

    समान हक र समान अवसरका लागि एकीकृत आन्दोलन, समाजवादको आधार निर्माणका लागि संविधान संशोधन भन्ने मूल नाराका साथ शनिवार काठमाडौंको माईतीघरमा ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको उक्त ध्यानाकर्षण सभामा दलित समुदायका अधिकारकर्मी, राजनीतिक नेता र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हरेक वर्ष मार्च २१ मा विश्वभर जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ, जसले समानता र न्यायको आवाजलाई बुलन्द पार्दै आएको छ । नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि व्यवहारमा अझै पनि छुवाछुत र उत्पीडनका घटनाहरू कायमै छन् । यो दिवसले हामीलाई हाम्रो अधिकारका लागि निरन्तर लड्न प्रेरणा दिन्छ । 

    ८. ‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

    फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै धमिलो छ । निर्वाचनको उत्सव सकिएको छ, विजयका गुलालहरू पखालिइसकेका छन् र अहिले काठमाडौंका गल्लीहरूमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । तर पोखराका गल्ली, चोक र चौतारीहरूमा भेटिने सर्वसाधारणका कुरा सुन्दा लाग्छ— उनीहरूको उत्साहभन्दा बढी ‘अन्तिम आशा’ जीवित छ । वर्षौँदेखि आश्वासनका पोकाहरू बोकेर घरदैलोमा आउने नेताहरू र सत्ताको कुर्सीमा पुगेपछि बदलिने उनीहरूको चरित्रबाट पोखरेली जनता यसरी थाकिसकेका छन् कि अब उनीहरूलाई भाषण होइन, परिणाम चाहिएको छ ।

    ९.अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न शंकास्पद डुङ्गा ध्वस्त

    अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाइएको एउटा डुङ्गालाई डुबाइदिएको छ । सो कारबाहीमा डुङ्गामा सवार तीन व्यक्ति बाँच्न सफल भएको अमेरिकी दक्षिणी कमान्डले शुक्रवार जानकारी दिएको छ । गुप्तचर निकायले उक्त कम उचाइ भएको जलयान (लो–प्रोफाइल भेसल) पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ओसारपसारका लागि परिचित मार्गहरूमा गुडिरहेको र लागुऔषध तस्करी कार्यमा संलग्न रहेको कुरा पुष्टि गरेको छ । उक्त डुङ्गा सूचीकृत आतंकवादी संगठनहरूद्वारा सञ्चालित रहेको आरोप समेत लगाइएको छ । सन् २०२५ सेप्टेम्बरदेखि अमेरिकी सेनाले लागुऔषध तस्करीको आशंका गरिएका डुङ्गाहरूमा ४६ वटा ज्ञात हवाई आक्रमणहरू गरिसकेको छ, जसमा परी कम्तीमा १५७ जनाको मृत्यु भएको छ । 

    १०. इन्धनको मूल्य वृद्धिको दबाबका बीच लाओसले विद्यालय सञ्चालनका दिन घटायो

    लाओस सरकारले इन्धनको अस्थिर मूल्यका कारण परिवारहरूमा परेको आर्थिक दबाब कम गर्न देशभरका विद्यालय सञ्चालनमा व्यापक फेरबदलको आदेश दिएको छ । आपतकालीन उपायअन्तर्गत अब विद्यालयहरू हप्ताको पाँच दिनको सट्टा तीन दिन मात्र सञ्चालन हुनेछन् । बिहीवार प्रधानमन्त्री कार्यालयद्वारा जारी सूचनाअनुसार यो निर्देशनले शैक्षिक गुणस्तर कायम राख्दै सिकाइ तालिकामा तत्काल परिवर्तन ल्याएको छ । साथै आर्थिक अवस्था थप बिग्रिएमा अन्य वैकल्पिक उपायहरू पनि अपनाइने संकेत गरिएको छ । यो निर्देशन सरकारी र निजी दुवै साधारण शिक्षा संस्थाहरूमा लागू हुनेछ । जसअनुसार भौतिक उपस्थितिमा हुने कक्षाहरू हप्ताको तीन दिनमा सीमित हुनेछन् । यद्यपि, विद्यालयहरूले पूर्ण पाठ्यक्रम पूरा गर्नुपर्नेछ र कक्षा समयको अभाव पूर्ति गर्न शैक्षिक पात्रो (एकेडेमिक क्यालेन्डर) लाई थप विस्तार गरिनेछ । यस कदमको मुख्य उद्देश्य शिक्षाको निरन्तरता सुनिश्चित गर्दै परिवारहरूको यातायात खर्चमा कटौती गर्नु रहेको सरकारले जनाएको छ । यदि इन्धनको चाप कायमै रहेमा सरकारले थप कडा कदमहरू चाल्ने योजना पनि अघि सारेको छ । 

    ११. एम्स्टर्डमको आगलागी नियन्त्रणमा

    नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डमको पश्चिमतर्फ रहेको वेस्टपोर्ट औद्योगिक क्षेत्रमा शुक्रवार लागेको भीषण आगलागी नियन्त्रणमा आएको स्थानीय दमकल विभागले जनाएको छ । यस घटनामा हालसम्म कुनै मानवीय क्षति भएको रिपोर्ट गरिएको छैन । सार्वजनिक प्रशारक ‘एनओएस’ ले दमकल विभागका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार दिउँसो ३ बजेपछि एउटा इलेक्ट्रिक स्कुटर भण्डारण केन्द्रबाट आगलागी शुरु भएको थियो । आगोका कारण निस्किएको बाक्लो धुवाँले डच राजधानीका विभिन्न भागहरू ढाकेको थियो । साँझ ५ बजेसम्म पनि घटनास्थलबाट धुवाँ निस्किरहेको भए पनि त्यो बिस्तारै कम हुन थालेको थियो । नजिकै एउटा ग्यास स्टेशन रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकारीहरूले सावधानीका लागि वरपरका सबै सडकहरू बन्द गरेका थिए । 

    १२. ट्रम्प भन्छन्—इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफू इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणलाई ‘कम गर्ने’ विचार गरिरहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिका आफ्ना उद्देश्यहरू पूरा गर्न ‘धेरै नजिक’ पुगेको बताउनु भयो । ट्रम्पले उल्लेख गरेका उद्देश्यहरूमा इरानको मिसाइल क्षमतालाई कम गर्ने, यसको रक्षा औद्योगिक आधार नष्ट गर्ने, यसको नौसेना र वायुसेनालाई हटाउने, यसलाई आणविक क्षमताको नजिक पुग्नबाट रोक्ने र यस क्षेत्रका अमेरिकी सहयोगीहरूको रक्षा गर्ने समावेश छ । ट्रम्पले आफू इरानसँग युद्धविराम नचाहने पनि बताउनु भयो । ट्रम्पले नाटो सहयोगीहरूलाई सुरक्षामा मद्दत गर्न हिचकिचाहट देखाएकोमा ‘कायर’ भनेर कडा आलोचना समेत गर्नुभयो । 

    १३. दक्षिण कोरियाको अटो पाट्र्स कारखानाको आगलागीमा १० जनाको मृत्यु, ५९ घाइते

    दक्षिण कोरियाको ड्याजियोनमा रहेको एउटा अटो पाट्र्स उत्पादन गर्ने कारखानामा लागेको आगोमा १० जनाको मृत्यु भएको छ । ५९ जना घाइते भएका छन् र चार जना बेपत्ता भएका छन् । शुक्रवार स्थानीय समयअनुसार दिउँसो करिव १ः१७ बजे करिव १७० कामदारहरू प्लान्ट भित्र हुँदा आगलागी शुरु भएको थियो । अधिकारीहरूकाअनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघात भएको अवस्थामा फेला परेका थिए र पछि मृत घोषित गरिएको थियो, जबकि अन्य नौ जना तेस्रो तलामा फेला परेका थिए । सुरक्षा विशेषज्ञहरूले उद्धार कार्यका लागि संरचना पर्याप्त स्थिर भएको निर्धारण गरेपछि शुक्रबार राति ढिलो भवनमा प्रवेश गरेदेखि अग्निनियन्त्रकहरूले बेपत्ताहरूको खोजी गरिरहेका छन् । 

    १४. सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने

    सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रवार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने आदेश जारी गर्नुभएको छ । यो आदेशले सरकारी मन्त्रालय, सार्वजनिक संस्थान, राज्यको स्वामित्वमा रहेका उद्यम र प्रशासनिक विभागका साथै राज्यको ५० प्रतिशतभन्दा कम नहुने हिस्सा भएका संयुक्त उपक्रमका कर्मचारीहरूलाई समेट्छ । आदेशअनुसार यो समायोजन जारी भएको समयमा लागू रहेको निश्चित तलबमा आधारित हुनेछ र यसमा विद्यमान कानुन अन्तर्गतका बढुवासम्बन्धी भत्ताहरू समावेश हुनेछन् ।

    १५. जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी

    जलवायु परिवर्तन, लैङ्गिक विभेद, वालविवाह लगायतका समस्यासम्बन्धी चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । युवा र प्लान ईन्टरनेसनलको संयुक्त सहकार्यमा शनिवार पाटन दबरबार क्षेत्रमा उक्त प्रर्दशनी गरिएको हो । प्रदर्शनीमा १६ देखी २९ वर्षसम्मका युवाहरुको ५० भन्दा बढी चित्रकलाहरु प्रदर्शन गरिएको थियो । युवा संस्थाकी प्रजेक्ट कोअर्डिनेटर नविना तिवारीले जलवायु परिवर्तन, लैङ्गिता, बालविवाह लगायतका समस्या र त्यसको समाधान चित्रकलामार्फत उजागर गर्ने उद्कदेश्यले प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उहाँले चित्रकलासँगै कविताहरु पनि वाचन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार फेब्रुअरी महिनाबाट देशका विभिन्न क्षेत्रका युवाहरुको आर्ट अनलाईन तथा भौतिक रुपमा संकलन गरिएको थियो । सोही संकलन गरेका आर्ट प्रदर्शन तथा कविता शनिवार वाचन गरिएको हो । प्रदर्शनीमा मिथिला आर्ट पनि प्रदर्शन गरिएको थियो । 

    १६. मध्यपूर्वको युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौतीः अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मध्यपूर्वको युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भिर चुनौतीको रुपमा देखा पर्नसक्ने बताउनुभएको छ । शनिवार भएको नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारणसभा तथा १७ औंँ अधिवेशनमा उहाँले मध्यपूर्वको युद्धले नेपालको अर्थतन्त्रमा गम्भीर असर पार्ने बताउनुभएको हो । उहाँले हर्मुजघाटीमा बढ्दो तनावका कारण इन्धन आपूर्तिमा समस्या भइरहेकोले आगामी दिनमा आर्थिक चुनौती थप बढ्ने बताउनुभयो । उहाँका अनुसार नेपालले भारतमार्फत इन्धन आयात गर्ने गरेको छ । भारतले ठूलो मात्रामा कच्चा तेल र एलपीजी विभिन्न देशबाट आयात गर्ने र त्यसको अधिकांश हिस्सा हर्मुज घाटीहुँदै ल्याउने उहाँले बताउनु भयो । त्यहाँको अवरोधले आपूर्ति श्रृंखला प्रभावित हुने उहाँको भनाई छ । हाल इरानले सो क्षेत्रलाई रणनीतिक रूपमा प्रयोग गरिरहेको उहाँले बताउनुभयो । उहाँले नयाँ सरकारले यस चुनौतीलाई गम्भीरतापूर्वक लिएर प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । 

    १७. मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

    हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ । मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बद्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ । यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुलाई राजदुतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ ।  हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताउनु भयो । नेपाल फर्किन चाहेका श्रमिकहरुसँग खर्च अभाव देखिएको उहाँको भनाई छ । उहाँले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरुको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिनुभयो । सोही कोषमार्फत उद्धारको तयारी भइरहेको उहाँको भनाई छ । संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । 

    १८. नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छः तपबहादुर मगर

    राष्ट्रिय मानव अधिका आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । ६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सचेत भएर काम गर्न आवश्यक रहेको अध्यक्ष मगरको भनाई थियो । उहाँले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरु मिलेर काम गरिरहेको दावी समेत गर्नुभयो । उहाँले जातीय विभेद अन्त्यका लागि विद्यमान कानून कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत दोहो¥याउनु भयो । 

    १९. नवनिर्वाचित सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक छः कमला पराजुली

    राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । ६१ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिवकार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो । अध्यक्ष पराजुलीले जातीय विभेदको शिकार सबै भन्दा बढी दलित महिलाहरु पर्नुपरेको तथ्य प्रश्तुत गर्दै त्यसको अन्त्यका लागि नवनिर्वाचित सांसदहरुले कडा कानून निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न केन्द्रित हुनुुपर्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल प्रहरी र महिला आयोगमा पनि जब्बरजस्ती करणीलगायतका महिला हिंसाका घटना जातीय विभेदका कारण आउने गरेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर निराकरण गर्दै लैजानुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - २०:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij