२०८२ भाद्र ८ गते आइतवार
कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, 'नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ।'
उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ।
भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।
कालो ढुसी पनि भनिने म्यूकर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकर्माइकोसिस हुन्छ।म्यूकर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ।
नाङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन्।
फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ।म्यूकर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटिलता निम्त्याउँछ र म्यूकर्माइकोसिसका कारण आँखा नै गुमाउनुपर्ने अवस्था निम्तिन सक्छ।
मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेको खण्डमा टाउको दुख्ने, बान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिन्छन्। यदि फोक्सोमा सङ्क्रमण पुगेको छ भने नाकबाट सिँगान बग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छिटो थकाइ लाग्ने लक्षण देखिन सक्छ ।
रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।
कोभिड भयो कि घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ। चिकित्सकको परामर्शबिना त्यसो गर्नुभएन ।
त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मिर्गौला रोगी आदिले चनाखो हुनुपर्ने डा. सिंह बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा 'एम्फोटेरिसिन बी' औषधिको प्रयोग गरिन्छ।हामीले कालाजारमा त्यसको प्रयोग गर्दै आएका छौँ। केही त हामीसँग छ तर फेरि यता प्रयोग गर्नुपर्ने भएपछि कालाजारका लागि जोहो गर्नुपर्ने हुन्छ उनले भने। बिबिसी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij