२०८२ फाल्गुण १६ गते शनिवार
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिवार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ । पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिए। सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गरे।
मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिए।
उनले भने, ‘संगठनात्मक रुपमा हामी थोरै कमजोर छौँ । धेरै ठुलो जनसमर्थन हुँदाहुँदै पनि हामी जनतासमक्ष पुग्न गाह्रो भइरहेको छ । त्यसैले हामीले भौतिक र डिजिटल कार्यक्रमको समेत आवश्यकता देखेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यसमा हामीले सबैको सहयोगको अपेक्षा गरेका छौँ । हामीले स्वीकृति लिएर कार्यक्रम गर्न लागेका हौँ, कसैसँग प्रतिस्पर्धा गर्नको लागि होइन । हाम्रा प्रतिवद्धताहरुलाई हाम्रा कार्यकर्तासमक्ष पु¥याउनको लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
उनले सभामा उपस्थित भई पार्टीका प्रतिवद्धताहरु बुझ्न र अरुलाई समेत जानकारी दिई सहयोग गर्न अपिल गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij