Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत

धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत


  • 561
    Shares

    धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडामा भएको  बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। 

    जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो। 

    उक्त दुर्घटनामा परी मृत्यु भएका अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन।

    दुर्घटनामा मृत्यु भई सनाखत हुनेहरुमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन्। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान,कास्कीको पोखरा महानगरपालिका-३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका-४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्। 

    त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका-७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका-६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका-२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ।

    सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्। तीमध्ये एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। 

    प्रहरीका अनुसार बसमा चालकमसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए। 

    दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट उद्धार गरिएका घाइतेहरुलाई सुरुमा मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसीमा उपचारका लागि पठाइएको थियो। 

    थप उपचारका लागि गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याइएको छ। हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

    उक्त घटनाको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

     

     

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १२:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij