२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । पाकिस्तानको सेनाले आइतबार बिहान अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । समाचार संस्था अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरिक–ए–तालिबान पाकिस्तान (टीपीपी) र इस्लामिक स्टेटसँग जोडिएका सातवटा क्याम्पलाई निसाना बनाएको छ ।
पाकिस्तान सरकारले यसलाई हालै भएका आत्मघाती हमलापछिको जवाफी आक्रमण भनेको छ । सूचना तथा प्रसारण मन्त्रालयले यो ‘इन्टेलिजेन्स–आधारित अपरेसन’ भएको जनाएको छ । पाकिस्तानले भनेको छ, “हामीसँग ती हमलाहरू अफगानिस्तानको भूमिबाट सञ्चालित नेटवर्कले गराएको हो भन्ने ठोस प्रमाण छन् ।”
अफगानिस्तानी सञ्चारमाध्यम टोलो न्युजका अनुसार हमलामा नांगरहारको एउटा घरलाई निसाना बनाइएको थियो । त्यहाँ आक्रमण गर्दा एकै परिवारका २३ जना भग्नावशेषमुनि पुरिएका थिए । भग्नावशेषबाट अहिलेसम्म चारजनालाई मात्र बाहिर निकालिएको बताइएको छ ।
अमेरिकी मानवअधिकार संगठन इन्टरनेसनल ह्युमन राइट्स फाउन्डेसनका अनुसार घटनामा १८ जनाको मृत्यु भएको छ । मृतकमध्ये महिला र बालबालिका छन् । यद्यपि, मृतक संख्याबारे आधिकारिक पुष्टि अहिलेसम्म सार्वजनिक भएको छैन ।
अफगानिस्तानको चेतावनी : सही समयमा कडा जवाफ दिनेछौँ
अफगानिस्तानको रक्षा मन्त्रालयले सही समयमा पाकिस्तानलाई जवाफ दिने चेतावनी दिएको छ । मन्त्रालयले यो आक्रमणलाई अफगानिस्तानको सार्वभौमिकताको उल्लंघन भनेको छ । अफगान स्रोतका अनुसार पक्तिकामा एउटा धार्मिक विद्यालयमा ड्रोन आक्रमण भएको थियो भने नांगरहार प्रान्तमा पनि कारबाही गरिएको थियो ।
पाकिस्तानले आतंकवादी अड्डाहरूमा मात्र आक्रमण गरिएको दाबी गरेको छ । तर, अफगान स्रोतहरूका अनुसार सर्वसाधारणलाई क्षति पुगेको छ ।
पाकिस्तानले लामो समयदेखि तालिबान सरकारसँग आफ्नो भूमिलाई कुनै पनि आतंकवादी संगठनले प्रयोग गर्न नदिन माग गर्दै आएको छ । टीटीपी अफगानिस्तानबाट सञ्चालन भइरहेको इस्लामाबादको आरोप भए पनि तालिबानले यी आरोप अस्वीकार गर्दै आएको छ ।
पाकिस्तानको माग : अन्तर्राष्ट्रिय समुदायले तालिबानमाथि दबाब दिओस्
पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्दै सन् २०२० मा दोहामा अमेरिकासँग भएको सम्झौताअनुसार तालिबानमाथि दबाब दिन आग्रह गरेको छ, ताकि अफगान भूमिलाई अन्य देशहरूविरुद्ध प्रयोग नगरियोस् ।
सन् २०२० को दोहा सम्झौतालाई अफगानिस्तानमा शान्ति प्रयासको महत्त्वपूर्ण कदम मानिन्छ । यो सम्झौता अमेरिका र तालिबानबीच २९ फेब्रुअरी २०२० मा कतारको राजधानी दोहामा हस्ताक्षर भएको थियो । सम्झौताको उद्देश्य अफगानिस्तानमा सन् २००१ देखि जारी युद्ध अन्त्य गर्नु र अमेरिकी सेनाको फिर्ती सुनिश्चित गर्नु थियो ।
तालिबानले अफगानिस्तानको भूमिलाई अमेरिका तथा उसका सहयोगी देशहरूको सुरक्षाका लागि खतरा बन्न सक्ने कुनै पनि समूह वा व्यक्तिले प्रयोग गर्न नपाउने प्रतिबद्धता जनाएको थियो । यसमा विशेष गरी अल–कायदा र अन्य अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सम्बन्ध तोड्ने तथा उनीहरूलाई भर्ती, तालिम, फन्डिङ वा आक्रमणको अनुमति नदिने वाचा समावेश थिए ।
सम्झौतापछि अमेरिकाले सन् २०२१ मा आफ्नो सेना फिर्ता बोलायो । त्यसपछि तालिबानले तीव्र गतिमा काबुल कब्जा गरेको थियो । हवाई आक्रमण हुनुभन्दा केही घण्टाअघि खैबर पख्तुनख्वाको बन्नु जिल्लामा सुरक्षा काफिलामाथि आत्मघाती आक्रमण भएको थियो, जसमा एक लेफ्टिनेन्ट कर्नेलसहित दुई सैनिक मारिएका थिए ।
यस्तै, १६ फेब्रुअरीमा पाकिस्तानको बाजौरमा विस्फोटक पदार्थले भरिएको गाडी सुरक्षा चौकीमा ठोक्काइएको थियो । यस आक्रमणमा ११ सैनिक र एक बालकको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार आक्रमणकारी अफगान नागरिक थिए ।
त्यसैगरी, यसअघि ६ फेब्रुअरीमा इस्लामाबादमा जुमेको नमाजका क्रममा शिया मस्जिदमा आत्मघाती आक्रमण भएको थियो । पाकिस्तानी अखबार ‘द डन’ का अनुसार उक्त हमलामा ३१ जनाको मृत्यु भएको थियो भने १६९ जना घाइते भएका थिए । यस हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij