Logo

२०८२ फाल्गुण १० गते आइतवार

२०८२ फाल्गुण १० गते आइतवार

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 309
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

    नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताउनुभएको हो । बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उहाँले मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने बताउनु भयो । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि  त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताउनु भयो । उहाँले प्रमुख राजनीतिक नेताहरू—केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका राजनीतिक तथा आर्थिक नीतिहरूलाई नालायकीको संज्ञा दिँदै आलोचना गर्नुभयो । यस्ता नालायकीले मुलुकलाई सङ्कटमा पु¥याएको र इतिहासमा यसलाई स्थापित गरी भविष्यमा दोहोरिन नदिने संकल्प गर्नुपर्ने उहाँको मत छ । गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो । भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताउनु भयो । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने, सुशासन नहुने चेतावनी दिनुभयो । 

    २. प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्

    प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गर्नुभयो । पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने बताउनु भयो । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उहाँले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारीता कमजोर देखिएको बताउनु भयो ।

    ३. पैसाले होइन, आइडिया र दृष्टिकोणले विकास हुन्छः अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि पैसा भन्दा पनि स्पष्ट दृष्टिकोण र सोच आवश्यक पर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आयोजित ‘निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरण’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई सरकारी जागिरको मात्र भर नपरी उद्यमशीलतामा जोड दिन आग्रह गर्नुभयो । उहाँले सरकारले लगानीको वातावरण बनाउने र निजी क्षेत्रले उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

    ४. नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढ्योः झलनाथ खनाल

    पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित भएपछि अमेरिकी टोलीले नेपालको उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग काठमाडौंको होटल म्यारियटमा भेटघाट गरेको उल्लेख गर्दै यो घटना रहस्यमय रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीसमेत सोही क्षेत्रको भ्रमणमा गएको प्रसंग जोड्दै यस्ता गतिविधिले नेपालको आन्तरिक मामिलामा वाह्य प्रभाव बढेको संकेत गरेको दाबी गर्नुभयो । ‘एमसीसी पारित भएपछि अमेरिकी सक्रियता र चासो थप बढेको छ । यो वैदेशिक हस्तक्षेपको स्पष्ट उदाहरण हो ।’ खनालले भन्नुभयो । 

    ५. झलनाथ खनालको आह्वानः निर्वाचनलाई समाजवादी क्रान्तिको कार्यनीतिक अभियान बनाऔं

    पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनलाई समाजवादी क्रान्तिको कार्यनीतिक अभियानको रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ते बताउनुभएको हो । उहँँले नेकपाको लक्ष्य वैज्ञानिक समाजवाद भएको बताउनु भयो । उहाँले १ सय ६५ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराएर क्रान्तिकारी सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो । बहुमत नआए पनि प्रगतिशील, देशभक्त तथा समाजवादी शक्तिसँग मिलेर सरकार बनाउने, तर प्रतिक्रियावादीसँग कहिल्यै साँठगाँठ नगर्ने प्रतिवद्धता जनाउनुपर्ने बताउनु भयो । नेता खनालले देश गम्भीर संकटमा फसेको उल्लेख गर्दै अमेरिकी टोलीले होटल म्यारियटमा उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग भेट गरेको घटनालाई विदेशी हस्तक्षेपको रूपमा प्रश्न उठाउनु भयो । साथै, ६२÷६३ को जनआन्दोलनलाई पुँजीवादी जनवादी क्रान्ति भएको भन्दै २० वर्षपछि पनि राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय संकट कायम रहेको बताउनु भयो । 

    ६. ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउनुपर्छः इप्पान अध्यक्ष कार्की

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र भएको बताउँदै सरकारबाट लगानीमैत्री नीति, प्रतिवद्ध सरकार र दीर्घकालीन स्थिरताको माग गर्नुभएको छ । 
    झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको निजी क्षेत्र संवाद कार्यक्रममा कार्कीले नेपालको विकास र समृद्धिको मुख्य आधार जलविद्युत तथा ऊर्जा क्षेत्र भएको बताउनुभएको हो । उहाँले ऊर्जा क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरिसके पनि सरकारको नीतिगत अस्थिरता, लाइसेन्स वितरणमा लापरबाही र विद्युत खरिदमा अनिच्छाका कारण समस्या बढिरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले दुई वर्षदेखि फाइल मुभ नहुने अवस्था रहेको गुनासो गर्दै सुशासनको खोजीमा सबै राजनीतिक दलहरूले राष्ट्र निर्माणको साझा एजेण्डा लिनुपर्ने बताउनु भयो । उहाँले सरकार परिवर्तन भएपनि नीति परिवर्तन हुन नहुनेमा जोड दिँदै लगानीमैत्री वातावरण बनाइदिन आग्रह गर्नुभयो । 

    ७. ‘हामी जनतासँग डराएका छैनौं, साढे १४ लाख कार्यकर्ता मैदानमा छन्, एमालेको जित सुनिश्चित छ’

    नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । एमाले प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले सरकारले शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन नसकेको र रास्वपाबाट एमालेको नेतृत्व र चुनाव चिन्हमाथि प्रहार भइरहेको बताउनुभएको हो । प्रचार विभाग प्रमुख शाहीले निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भयभीत र सन्त्रासमय बन्दै गएको बताउनु भयो । ‘सरकारले शान्ति सुरक्षाको वातावरणलाई विश्वासयोग्य बनाउन सकेको छैन ।’ उहाँले भन्नुभयो, ‘हजारौँ कैदीबन्दी र लुटिएका हातहतियार बाहिरै रहनुले अवाञ्छित क्रियाकलाप बढ्ने हाम्रो पूर्वानुमान पुष्टि हुँदै गएको छ ।’ उहाँले रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कफ्र्यूले आम मतदातामा त्रास फैलाएको उल्लेख गर्दै निर्भीक ढंगले मतदान गर्ने अधिकार ग्यारेन्टी गर्न सरकारसँग माग गर्नुभयो । 

    ८. ‘सुख्खा मौसममा आगलागीका घटना बढ्दै’

    सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् । यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राधिकरणकाअनुसार करिव ५० लाख १९ हजार ५ सय रुपैयाँ क्षति भएको छ । 
    आगलागीका प्रमुख घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बकुलाछापमा विद्युतीय मिटर सर्ट भएर घर पूर्ण रूपमा जलेको छ । यसबाट अन्नपात, लत्ताकपडा, फर्निचरसहित १९ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ पिप्लेमा पनि विद्युत सर्टबाट दुई घर जलेर १३ लाख रुपैयाँको क्षति पुगेको छ । धनकुटाको चौकिसे गाउँपालिका–१ बुधबारेमा गोठमा आगलागी हुँदा ५ खसी र २ पाठा मरेका छन् भने २ बाख्रा घाइते भएका छन् । यसबाट ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तेह्रथुमको फेदाप गाउँपालिका–२ पिपलबोटेमा खोले पकाउने आगोबाट गोठ र घर जलेर ३ लाख रुपैयाँ क्षति भएको छ ।

    ९.‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस्’

    ‘बंगलादेशको राजनीतिले नेपाललाई पनि छुन्छ’ र अझ महत्वपूर्ण कुरा ‘बंगलादेशको राजनीतिले नेपाललाई पनि सिकाउछ’
    सविन धमला÷न्युज एजेन्सी नेपाल
    सन् २०२६ को फेब्रुअरी महिना दक्षिण एशियाको राजनीतिक इतिहासमा एउटा यस्तो मोड बन्यो जसलाई आगामी धेरै वर्षसम्म सम्झिइनेछ । बंगलादेशमा भर्खरै सम्पन्न आम निर्वाचनको नतिजाले सत्ता समीकरण मात्र बदलेको छैन यसले हाम्रो जस्तो विकासोन्मुख र भूराजनीतिक चेपुवामा परेका देशहरूको सोच्ने तरिका नै बदलिदिएको छ । लामो समय शासन गरेकी शेख हसिना देश छोडेर हिँडेपछि सडकमा देखिएको त्यो अभूतपूर्व जोस र जेन जी भनिने नयाँ पुस्ताको आन्दोलन देख्दा धेरैलाई लागेको थियो अब बंगलादेश पूरै नयाँ हातमा जान्छ र अब पुरानाको दिन गए । तर जब ब्यालेट बाकस खुल्यो कथाले अर्कै मोड लियो । सडक तताउन जति सजिलो थियो सरकार चलाउने विश्वास दिलाउन त्योभन्दा कयौं गुणा गाह्रो रहेछ भन्ने कुरा यो चुनावले छर्लङ्ग पारिदिएको छ । १८ वर्षदेखि विदेशमा निर्वासित जीवन बिताएका तारिक रहमानको पार्टीले भारी बहुमत ल्याउनु र क्रान्तिको नेतृत्व गरेका नाहिद इस्लामजस्ता नयाँ अनुहारहरू जम्मा ६ सिटमा खुम्चिनु चानचुने कुरा होइन । यो नतिजाले नेपालको राजनीतिलाई पनि ऐना देखाइदिएको छ र थुप्रै अनुत्तरित प्रश्नहरूको जवाफ दिएको छ ।

    १०. रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरी उहाँहरुले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरुलाई आग्रह गर्नुभएको हो । उहाँहरुले देश हाल सबैभन्दा गम्भिर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गर्नुभएको छ । अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उहाँहरुले आह्वान गर्नुभयो । वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गर्नुभएका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गर्नुभयो । उहाँले चुपचाप नभइ धेरै अध्ययन गरेर मत हाल्न आग्रह गर्नुभयो । उहाँले देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोप लगाउनु भयो । समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेद्वार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जवाफदेहीता नभएको कारण आफूले पार्टी छाडेको उहाँको भनाई छ । उहाँले नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोदनमाथी नै धोकाधडी हुन लागेको आरोप लगाउनु भयो । 

    ११. रास्वपा निर्वाचन बिथोल्न खोज्दैछः एमाले

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न तिर लागेको आरोप लगाएको हो । एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले निर्वाचन विथोल्नको लागी रास्वपाले एमालेको झण्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाउनु भयो । उहाँले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको बताउनु भयो । उहाँले शान्ति–सुरक्षाको प्रत्याभुति दिन सरकार असफल भएको आरोप लगाउनु भयो । शाहीकाअनुसार देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तिब्र बनेका छन् । उहाँले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताउनु भयो । शान्ति–सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रह का रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाउनु भयो । 

    १२. अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर

    अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै अदालतले भनेको छ कि राष्ट्रपतिले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिहरू ऐन अन्तर्गत राष्ट्रिय आपतकालको नाममा लगाएका आयात ट्यारिफहरू असंवैधानिक छन् । यो ऐनले राष्ट्रपतिलाई यस्ता ट्यारिफ लगाउने अधिकार दिँदैन । अदालतले जोड दिएको छ कि कर (ट्यारिफ) लगाउने अधिकार अमेरिकी संविधानअनुसार कंग्रेसको हो । राष्ट्रपतिको होइन। मुख्य न्यायाधीश जोन रोबट्र्सले लेखेको फैसलामा भनिएको छ कि राष्ट्रपतिले कंग्रेसबाट स्पष्ट अनुमति बिना यस्तो व्यापक ट्यारिफ लगाउन सक्दैनन् । ट्रम्पले गत वर्ष अप्रिलमा लिबेरेसन डेको नाममा लगभग सबै आयातित सामानमा न्युनतम १० प्रतिशत ट्यारिफ लगाएका थिए । जसमा केही देशहरूमा उच्च दरहरू थिए । यसले अमेरिकी उत्पादनलाई बढावा दिने र सरकारलाई राजस्व बढाउने दाबी गरेका थिए । 

    १३. इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए

    लेबनानको पूर्वी भाग बेकाँ उपत्यकामा शुक्रवार इजरायली हवाई हमलामा १० जना मारिएका छन् । अन्य २४ देखि ३५ जना घाइते भएका छन् । मारिएकामध्ये हिजबुल्लाहका वरिष्ठ कमाण्डर हुसैन मोहम्मद याघी (हुसैन याघी) पनि परेका छन् । लेबनानका आधिकारिक तथा सुरक्षा स्रोतहरूले यो पुष्टि गरेका छन् । हुसैन याघी पूर्व हिजबुल्लाह सांसद मोहम्मद याघी (जसलाई अबु सलीम पनि भनिन्छ) का छोरा हुन् र हिजबुल्लाहका संस्थापक सदस्यमध्ये एकका रूपमा चिनिन्छन् । हिजबुल्लाहले उनको शहादत घोषणा गर्दै लेबनान र यसका जनताको रक्षामा शहीद भएको भनेको छ । उनको अन्त्येष्टि शविबार हुने बताइएको छ । केही रिपोर्टहरूमा अन्य दुई हिजबुल्लाह कमान्डरहरू अली जायद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी पनि मारिएको उल्लेख छ । लेबनानी सुरक्षा स्रोतकाअनुसार इजरायली विमानहरूले आवासीय क्षेत्र र हिजबुल्लाहका स्थलहरूमा कम्तीमा छवटा हमला गरेका थिए । घाइतेहरूलाई क्षेत्रीय अस्पतालहरूमा पु¥याइएको छ भने भग्नावशेषमुनि फसेकाहरूको खोजी कार्य जारी छ । 

    १४. कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी

    युरोपेली संघ (इयु) का एक उच्च अधिकारीले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी दिनुभएको छ  जसलाई विद्रोही नेताले तुरुन्तै खण्डन गर्दै सरकार नियन्त्रित क्षेत्रहरूमा सबैभन्दा खराब अवस्था रहेको आरोप लगाउनु भयो । युरोपेली आयुक्त हाद्जा लाहबिब, जो समानता, तयारी र संकट व्यवस्थापनकी कमिसनर हुन् । ले गोमा शहरमा भ्रमण गर्दै यो चेतावनी दिएकी थिइन् । गोमा मार्च २३ मुभमेन्ट विद्रोही समूहको नियन्त्रणमा छ । उनको यो भ्रमण किनशासा, वाण्डा र बुरुन्डीको क्षेत्रीय भ्रमणको क्रममा भएको थियो । यस भ्रमणको समयमा इयुले यस हप्ता ग्रेट लेक क्षेत्रमा, विशेष गरी पूर्वी कंगोमा द्वन्द्व पीडितहरूका लागि ८१.२ मिलियन युरो (लगभग ८८ मिलियन अमेरिकी डलर) मानवीय सहायता जारी गर्ने घोषणा गरेको थियो । लाहबिबले पत्रकारहरूसँग कुरा गर्दै किनशासादेखि किगाली, बुजुम्बुरा र अब गोमासम्म, आफ्नो एउटै सन्देश रहेको र मानवीय कानूनको सम्मान गर्नुपर्ने बताउनु भयो ।

    १५. ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले शुक्रवार सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत यो जानकारी दिनुभएको हो । यो उपाय तत्काल लागू हुने उहाँले बताउनु भयो । यसअघि शुक्रवार नै ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग हुने कानूनअन्तर्गत लगाइएका केही ट्यारिफहरूलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको भन्दै ती स्थानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको थियो । समाचार ब्रिफिङमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि कडा टिप्पणी गर्नुभयो । उहाँले अदालत विदेशी हितबाट प्रभावित भएको आरोप लगाउँदै सर्वोच्च अदालतको ट्यारिफसम्बन्धी फैसला अत्यन्त निराशाजनक रहेको बताउनु भयो । अमेरिकी सर्वोच्च अदालतले शुक्रवार ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालीन अवस्थाका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत लगाएका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको थियो । 

    १६. हङकङ २०२५ मा विश्वको नम्बर १ आईपीओ फन्डरेजिङ हब बन्यो

    हङकङ स्टक एक्सचेन्जको तथ्यांकअनुसार सन् २०२५ मा हङकङले विश्वको सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) फन्डरेजिङ स्थलको रूपमा आफ्नो स्थान कायम राखेको छ । यस वर्ष हङकङले ११९ वटा कम्पनीहरूको आईपीओमार्फत कुल ३७.४ अर्ब अमेरिकी डलर (लगभग २९२ अर्ब हङकङ डलर) संकलन गरेको छ । यसमा विश्वका पाँच ठूला आईपीओमध्ये दुईवटा पनि समावेश छन् । उद्योगगत आधारमा, हङकङ स्वास्थ्य सेवा तथा बायोटेक, प्रविधि, मिडिया तथा दूरसञ्चार, औद्योगिक तथा नयाँ ऊर्जा क्षेत्रमा विश्वका शिर्ष केन्द्रहरू मध्ये एक बनेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका वित्तीय सचिव पाउल चानले सन् २०२५ लाई सर्प वर्षको रूपमा सफल भएको बताउनु भयो । बजारमा तरलता उल्लेखनीय रूपमा सुधार भएको र पूँजीका स्रोतहरू निकै विविधीकृत भएको उनले उल्लेख गर्नुभ्यो । ह्याङ सेङ इन्डेक्सले सर्प वर्षमा झन्डै ६ हजार ५ सय अङ्कको वृद्धि गरेको छ, जुन एक वर्षअघिको तुलनामा ३२ प्रतिशतले बढी हो । यो सर्प वर्षको इतिहासमा अङ्क र प्रतिशत दुवै हिसाबले सबैभन्दा राम्रो प्रदर्शन हो । 

    १७. ‘जेन–जी संविधान’ जारी गर्नुपर्ने माग गर्दै माईतीघरमा अनसन

    जेन–जी संविधान जारी गर्न माग गर्दै जेन–जी युवा पुस्ताको एउटा समूह अनसनमा बसेको छ । जेन–जी विद्रोहको भावनाअनुरुपको जेनजी संविधान यही फागुन १५ गते सार्वजनि गर्नुपर्ने मागसहित उक्त समूह काठमाडौंको माईतीघर मण्डलामा अनसनमा बसेको हो । अनसनरत जेन–जी युवा जनार्दन अधिकारीले जेन–जी शहीदहरुमाथि राज्यसत्तामा बस्नेहरुले भद्दा मजाक गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले जेन–जी आन्दोलनको मुख्य माग व्यवस्था र अवस्था दुवै बदल्नु रहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनु भयो । उहाँले २०८४ सालमा हुने निर्वाचन २०८२ सालमै गराउनको लागि जेन–जीहरुले बलिदानी नदिएको स्पष्ट पार्दै यसतर्फ सरोकारवालाहरुको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । 

    १८. मुलुकबाहिर रहेका ९० लाख नेपाली नागरिकसहित लगानी भित्र्याउन विशेष नीति लागू गर्छौंः काँग्रेस सहमहामन्त्री राणा

    नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले राजनीतिक र नीतिगत स्थीरता बिना मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसकिने बताउनुभएको छ । पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बनेको खण्डमा मुलुकको अर्थतन्त्र चलायमान बनाउन नीतिगत स्थीरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालका बैंकहरुमा तरलता भएपनि सर्वसाधारणले सहज रूपमा ऋण पाउने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले लगानीसँगै मुलुकबाहिर रहेका ९० लाख नागरिकलाई स्वदेश फर्काउन पार्टीले विशेष नीति र कार्यक्रम लागू गर्ने दाबी गर्नुभयो । 

    १९. देशमा केही भएन भन्ने होइन, अझै धेरै गर्न बाँकि छः ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताउनुभएको छ । शनिवार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देशमा केही हुँदै गएको र अझै धेरै गर्न बाँकि रहेको समेत स्पष्ट पार्नुभयो । देशमा केही भएको र अझै धेरै गर्न बाँकि रहेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले विकास, निर्माणका कामहरु गर्दै जाने विषय भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो,‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ । तर अझै हुन बाँकि छ । त्यो गर्दै जानुपर्छ । दमकमा पिच सडक हेर्न राजमार्ग जानुपर्दथ्यो । अहिले बेडबाटै हेर्न सक्नु हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ । अझै गर्दै जानुपर्नेछ ।’

    २०. सहकारी पीडितलाई न्याय दिने एजेण्डासहित चुनावी मैदानमा केसी

    सहकारी पीडितलाई न्याय दिने एकमात्रै एजेण्डासहित प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिइएको छ । सहकारी वचतकर्ता पीडित महासंघका अध्यक्ष कुशलभ केसीले सो एजेण्डामात्रै लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभएको हो । शनिवार काठमाडौंको माईतीघर मण्डलामा सहकारी पीडितहरुको भेला गरी आफ्नो चुनावी अभियान शुभारम्भ गर्दैं उहाँले सहकारी पीडितहरुलाई न्याय दिने काम विगतमा बनेका कुनैपनि सरकारले नगरेकाले उनीहरुलाई न्याय दिनका लागि आफूले उम्मेदवारी दिनु परेको बताउनु भयो । अध्यक्ष केसीले पीडितलाई न्याय दिन सडकबाट सम्भव नभएकाले आफूले सदनमा जानुपर्ने अवस्था आएको भन्दै आफ्नो चुनाव चिन्ह प्रेसर कुकरमा मतदान गर्न पनि आह्वान गर्नुभयो ।

    २१. केन्द्रिय सुरक्षा समिति बैठकः रौतहट घटनामा सद्भाव कायम गर्न सबै पक्षमा आह्वान

    केन्द्रिय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले बैठकमा गरेका थिए । बैठकले आगामी दिनमा पनि सुरक्षा व्यवस्था चुस्त राख्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँले बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरुबीच देखिउका विवाद र घटनाहरुको समिक्षा गरिएको जानकारी दिँदै गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने निर्णय पनि भएको छ ।

    २२. धनकुटामा हायस दुर्घटना, ७ यात्रु घाइते

    कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस दुर्घटना भएको छ। काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ नम्बरको हायस अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खस्दा ७ यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा धनकुटा नगरपालिका-१ का ३६ वर्षीय रामचन्द्र तामाङ, १८ वर्षीय अभिषेक मगर र धनकुटा नगरपालिका-१ हिलेका ३५ वर्षीय युमेश विक रहेको प्रहरीले जनाएको छ। हिलेकै ३५ वर्षीय कल्पना विक र उनकी छोरी १३ वर्षीया निष्मा विक पनि दुर्घटनामा घाइते भएका छन्।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण ९ २०८२ शनिवार - २०:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij