२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारको आकार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको हो।
विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल वैदेशिक व्यापार करिब १३ खर्ब रुपैयाँ (१२ खर्ब ९१ अर्ब ६३ करोड) पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालको निर्यात व्यापारमा उल्लेख्य सुधार देखिएको छ । विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो ।
निर्यातसँगै आयातको आकार पनि बढेको छ । सात महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत वर्षको तुलनामा १३.६५ प्रतिशतले बढी देखिएको छ ।
निर्यात बढे पनि आयातको उच्च परिमाणका कारण व्यापार घाटाको आकार भने वृद्धि भएको छ ।
माघसम्ममा मुलुकको व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले व्यापार घाटा १०.९१ प्रतिशतले बढेको देखिन्छ ।
निर्यातको वृद्धिदर आयातको भन्दा उच्च हुँदा आयात–निर्यात अनुपातमा भने सुधार देखिएको छ । गत वर्ष नेपालले १ रुपैयाँको निर्यात गर्दा ७.७७ रुपैयाँको आयात गरिरहेको थियो । तर यो वर्ष त्यो अनुपात घटेर ६.६८ मा झरेको छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । गत वर्ष ११.४० प्रतिशत रहेको निर्यातको हिस्सा बढेर चालु आर्थिक वर्षमा १३.०२ प्रतिशत पुगेको छ । यता आयातको हिस्सा भने ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij