२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान हुन दुई साताभन्दा कम समय बाँकी रहँदा ओखलढुंगामा बलियो उपस्थिति रहेको एमालेभित्रको आन्तरिक समस्या झनै बढ्दा एमालेबाटै विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङको पक्षमा माहोल बढेको पाइएको छ ।
पार्टीले जिल्लाका पुराना, स्थापित र जनतासम्म झिजेका नेताहरुको आवाजलाई बेवास्ता गर्दै गाउँपालिका उपाध्यक्ष रहेकी अस्मिता थापालाई उम्मेदवार बनाएपछि नेतृत्वको सिंगो टोलीले नै विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको थियो ।

प्रदेश सांसद र मन्त्री हुँदा जिल्लामा थुप्रै विकासका योजना सुरु गरेर विकास प्रेमी नेताको छवि बनाएका गुरुङ नेकपाबाट उम्मेदवार बनेका छन् । एमालेभित्र लोकप्रिय रहेका र विद्रोहमा समेत सिंगो जिल्ला कमिटीले साथ दिए पछि गुरुङले चुनाव जित्ने सम्भावना बलियो रहेको विश्लेषण भइरहेको छ ।
जिल्लाको विकासमा ठूलो योगदान दिएका र स्थापित नेता गुरुङलाई केही नेताको स्वार्थका कारण टिकट नदिएपछि एमालेभित्र जिल्लादेखि वडासम्म नै विद्रोह भएको छ भने एमालेमै क्रियाशीलहरुमा समेत गुरुङप्रति नरम भाव पाइएको छ ।

जिल्लामा एमालेभित्र ठूलो पहिरो गएसँगै विगतमा एमालेबाट अलग भएका शंकर कटुवाल र सीताराम गुरुङसहितका नेताहरु भने एमालेमै फर्किएका छन् । तर निर्वाचनको मुखमा दल बलल्न माहिर नेताहरु पार्टीमा फर्किएपनि त्यसले जिल्लामा एमालेको पक्षमा माहोल बढाउनुको साटो झनै अविश्वासको अवस्था बनेको एमालेभित्रै गाइगुई चल्ने गरेको छ ।
जिल्लामा पार्टीभित्रको एउटा इमान्दार पंक्तिले विद्रोह गरेको र विगतमा पार्टीलाई कमजोर बनाएर बाहिरिएकाहरु फेरि प्रवेश गरेपछि त्यसले एमालेप्रति विश्वास गरेर बसेकाहरु समेत निराश बनेको पाइएको छ । जसले गर्दा एमालेमै रहेको अर्को पंक्ति समेत निस्क्रियजस्तै बनेको छ ।
एमालेको जिल्ला अध्यक्ष भइसकेका शंकर कटुवाल एमालेमै फर्किएपनि पार्टीभित्र विभाजनकारी भूमिका खेलेको, पार्टीलाई कमजोर बनाएको भन्दै उनीप्रति कार्यकर्ता पंक्तिको विश्वास नरहेको एमालेकै नेताहरु स्वीकार्छन् ।
हाल नेकपाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका अम्बिरबाबु गुरुङकै सिफारिसमा उनी सुकुम्बासी आयोगको अध्यक्ष भएका थिए भने २०७८ मा उनलाई एमालेको जिल्ला अध्यक्ष बनाउन पनि गुरुङकै साथ र सहयोग थियो । तर उनीमाथि अध्यक्ष बनेपछि जिल्लामा सबैलाई मिलाएर लैजान नसकेको, पार्टीलाई दुई धारमा विभाजित गराएको आरोप छ ।

यतिमात्रै होइन उनी फागुन २१ को निर्वाचनका लागि मनोनयन दर्ताअघिसम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार थिए । उनको हाल रास्वपाबाट उम्मेदवार रहेका पूर्वएआईजी विश्वराज पोखरेलसँग निकट सम्बन्ध भएको बताइन्छ । त्यसैले पनि रास्वपामा जान कुरा नमिलेसँगै उनी एमालेमा फर्किएकाले अवसरवाद देखिएको बुझाई एमाले नेताहरुको देखिन्छ ।
उनी अध्यक्ष रहेका समयमा २०७९ को स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा समेत एमालेले नराम्रो हार व्येहोरेको थियो । उनीमाथि आफ्नो राजनीतिक लाभका लागि अम्बिरबाबु गुरुङ, मोहन श्रेष्ठ र किशोर अधिकारीलाई फुटाएको आरोप समेत छ । उनले अध्यक्ष बन्दा बालकृष्ण ढुंगेल, अम्बिरबाबु गुरुङ र नानीबाबु बुढाथोकीको समर्थन पाएर सीताराम गुरुङलाई १२४ मतले हराएका थिए । गुरुङलाई भने यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठको साथ थियो ।
तर १०औं जिल्ला अधिवेशनमा अध्यक्षमा नदोहोरिने निश्चित भएपछि उनले विभिन्न आरोप लगाएर एमाले परित्याग गरेका थिए । उनी पछि रास्वपामा क्रियाशील भएका थिए ।
संयोग कस्तो बनेको छ भने एमालेको नवौं जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका कटुवाल एमालेमै फर्किएको केही दिनभित्रै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बनेका सीताराम गुरुङ पनि एमालेमै फर्किएका छन् । उनलाई एमाले नेता यज्ञराज सुनुवारले पार्टीमा प्रवेश गराएका हुन् । विगतमा प्रतिद्वन्द्वी रहेका गुरुङ र कटुवालको प्रवेशले फेरि एमालेभित्र नयाँ गुटबन्दी बढेको छ ।
गुरुङ २०५४ सालमै एमालेबाट गाविस अध्यक्ष बन्दा आफ्नो कार्यकाल नै पूरा नगरी काठमाडौं पलायन भएका थिए । २०७८ मा पार्टीको जिल्ला अधिवेशनमा शंकर कटुवालसँग हार भोगेका उनी २०७९ सालको स्थानीय निर्वाचनमा एमालेकै उम्मेदवारविरुद्ध बागी बनेका थिए । बागी उम्मेदवार बनेर पार्टीको उम्मेदवार हराएपछि उनलाई एमालेले कारबाही गरेको थियो ।

पार्टीका कारबाही फुकुवा भएर एमालेको राजनीतिमा सक्रिय भएका उनी गत भदौमा भएको एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी भएका थिए । तर जेन्जी आन्दोलनपछि उनी एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए । नेकपाबाट उम्मेदवार बन्ने लक्ष्यमा रहेका उनी पार्टीको प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बन्न नपाएपछि एमालेमै फर्किए हुन् ।
पद र प्रतिष्ठाका लागि जुनसुकै बेला पार्टी छाड्न र भित्रिने सक्ने नेताको छवि बनाएका गुरुङ एमालेमै सक्रिय भए पनि भित्री रुपमा भने विश्वासको वातावरण बन्न नसकेको चर्चा एमालेभित्रै चल्ने गरेको छ ।
एमालेभित्र अन्योलता र उकुसमुकुश बढिरहेको तथा नेकपा एकढिक्का बनेर निर्वाचन प्रचारप्रसारमा जुटेका कारण अम्बिरबाबु गुरुङको पक्षमा माहोल बलियो बन्दै गएको एमालेकै स्थानीय नेताहरु स्वीकार्छन् । काँग्रेसबाट समेत बलिया उम्मेदवार मानिने रामहरि खतिवडाले निकट नपाएपछि उनीहरु पनि विकल्पको खोजीमा छन् ।
विगतमा सांसद र मन्त्री बन्दा पनि जिल्लामा विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएका गुरुङ अहिले उम्मेदवार बन्दा समेत विकासका बृहत् योजना र भिजनसहित अघि बढेका छन् ।
उनले ओखलढुंगासहित पूर्वी पहाडी र हिमाली जिल्लाको लाइफलाइन रुम्जाटार विमानस्थलको नियमित सञ्चालन तथा स्तरोन्नति गर्ने, रुम्जाटार विमानस्थलमा फ्युल सेन्टर स्थापना गरेर वायु सेवा र पर्यटनलाई प्राथमिकता दिँदै नागरिकको जीवनस्तर समेत उकास्ने उनको लक्ष्य छ ।
जिल्लामा विगतमा गरेको विकास, भावी योजना र नेतृत्वदायी क्षमताका कारण गुरुङले अग्रता बनाइरहँदा अन्य दलहरु रक्षात्मक बनिरहेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij