२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती बम विस्फोट हुँदा १० जना सैनिकको मृत्यु भएको छ। बिबिसीका अनुसार बाजौर जिल्लाको मलंगी क्षेत्रमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन एक भवनमा ठोक्किँदा शक्तिशाली विस्फोट भएको हो।
उक्त भवन पहिले मदरसा रहेको र पछि त्यसलाई सुरक्षा चौकीका रूपमा प्रयोग गरिएको बताइएको छ। प्रहरी अधिकारीहरूले सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको पुष्टि गरेका छन्।
मृतकमध्ये एक जना प्रहरी र फ्रन्टियर कर्प्सका नौसैनिक रहेका छन्। घटनास्थलको भग्नावशेषबाट अझै पनि शव निकाल्ने कार्य जारी रहेको जनाइएको छ।
एक अधिकारीका अनुसार अज्ञात आक्रमणकारीले विस्फोटकले भरिएको गाडी चौकीतर्फ ठोक्काएर विस्फोट गराएका थिए। पाकिस्तानी सेनाले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
यस घटनाप्रति खैबर पख्तूनख्वाका मुख्यमन्त्री शोहेल अफ्रिदीले कडा निन्दा गरेका छन्। उनले दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij