२०८२ भाद्र ५ गते बिहिवार
काभ्रे । प्रहरीले एक महिलालाई खाल्डो खनेर पुरेको आरोपमा श्रीमान र ससुरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले २२ वर्षीय महिलाको हत्या गरी खाल्डोमा पुरेको आरोपमा महिलाका श्रीमान र ससुरालाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाका अनुसार बुधबार उनीहरू दुई जनालाई पक्राउ गरेको हो । मृतक महिला बन्दीपुर गाउँपालिका-४ की २२ वर्षीया सुमिना गुरूङ हुन् ।
उनको दुई वर्षअघि काभ्रेको चौरीदेउराली गाउँपालिका-९ गोठपानीका २८ वर्षीय सोनाम लामासँग विवाह भएको थियो ।उनीहरूको एक वर्षको छोरा पनि रहेको डिएसपी खतिवडाले बताए ।
प्रहरीले सुमिनाका ससुरा ६६ वर्षीय चन्द्रबज्र लामा र उनका छोरा सोनाम लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
उनीहरूले आफ्नो घरभन्दा करिब एक सय मिटर पर रहेको मकै बारीमा गत शनिबार खाल्डो खनेर पुरेका थिए । बुधबार फोरेन्सिक सहितको टोली पुगेर खाल्डोबाट शव निकालेको थियो ।
सोनाम आफैंले नै गाउँघरमा आफ्नी श्रीमती हराइरहेको भन्दै हिँडेका थिए । तर प्रहरीले उनीमाथि नै शंका गरेर नियन्त्रणमा लिएपछि सुमिनालाई खाल्डोमा पुरेको कुरा खुलेको डिएसपी खतिवडाले बताए ।
'आफैंले खाल्डोमा श्रीमतीलाई पुरेर गाउँघरमा बाबुछोराले हरायो भन्दै हिँडेछन् । माइती पक्षले जाहेरी दिएपछि हामीले श्रीमानमाथि शंका लागेर सोधपुछ गर्यौं,' डिएसपी खतिवडाले भने,'त्यसपछि मैले बुवासँग मिलेर गाडेको हो भन्ने कुरा गरे । अनि हामीले नियन्त्रणमा लिएका हौं ।'
आफ्नी श्रीमतीको हत्याबारे सोधपुछ गर्दा सोनामले श्रीमतीले आत्महत्या गरेको प्रहरीमा बयान दिएका छन् । 'ुश्रीमतीले आत्महत्या गरिन्। डर लागेर हामीले लास लुकाएको भन्छन् । झुण्डिएको हो कि मारेको हो भन्ने अनुसन्धान हुँदैछ,' डिएसपी खतिवडाले भने ।
प्रहरीले शव पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ । उनको पोष्टमार्टमपछि हत्यापछि गाडेको हो वा आत्महत्या गरेपछि गाडेको भन्ने खुल्ने डिएसपी खतिवडा बताउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij