२०८२ फाल्गुण २ गते शनिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासमा केन्द्रीय बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो।
एनआईसी एसिया बैंकले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकोले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम २-२ लाख नगद जरिवाना गराइएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन नं. २०८०/०८१ को बुँदा नं. ३ (ज) को पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहीछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको छ। कर्जाहरुलाई कर्जा असुलीमा प्रयोग गरेको पाइएकोले बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ।
ग्लोबल आइएमई बैंकले स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ का आधारमा राष्ट्र बैंकले देहायको कैफियतका सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को नं २\०८१ को व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको एइजिङ वाइज कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, बैंकको स्थलगत निरीक्षणका क्रममा कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij