२०८२ चैत्र ३ गते मंगलवार
काठमाण्डौ । रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज ललितपुरको बुङ्मती लगिएको छ । कडा सुरक्षा घेराकाबीच बुधावर दिउँसो २ बजेर ५० मिनेटमा मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिएको हो ।
यसअघि बिहान ६ बजेर ४० मिनेटको साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतीकात्मक रूपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो ।
विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको हो ।
योसँगै यस वर्षको मच्छिन्द्रनाथको जात्रा सकिएको छ । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथ जात्रालाई छोट्टाउने सहमतिअनुसार जेठ १ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो । मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथो दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि प्रतीकात्मक रूपमा तानिएको हो ।
ललितपुर महानगरभित्रका केही ठाउँमा गएको जेठ १ गतेदेखि जिल्ला प्रशासन कार्यालय ललितपुरले पाँच जनाभन्दा धेरै भेला हुन नपाउने गरी लगाएको निषेधाज्ञा आज राति १० बजे सकिँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij