२०८२ मंसिर २२ गते सोमवार
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रका एक अनुभवी र प्रतिष्ठित व्यक्तित्व नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ ।
मानन्धर नेपालको २१औँ वाणिज्य बैंकका रूपमा स्थापित प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनकै नेतृत्व र दूरदृष्टिका कारण प्राइम बैंकले स्थापनाको छोटो समयमै समकालीन बैंकहरूको तुलनामा नयाँ उचाइ हासिल गरेको थियो । सोही बैंकको सीईओ पदबाट उनले बैंकिङ जीवनबाट सक्रिय अवकाश लिएका थिए ।
प्राइम बैंकको नेतृत्व सम्हाल्नुअघि मानन्धरले तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी निर्वाह गरेका थिए । उनले आफ्नो बैंकिङ करियरको लामो समय कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको उच्च व्यवस्थापन तहमा रहेर बिताएका थिए ।
बैंकिङ क्षेत्रबाहेक उनले संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको परामर्शदाता तथा धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए ।
मानन्धरका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै काठमाडौँको शोभाभगवतीमा अन्त्येष्टि गरिएको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij