२०८२ चैत्र १ गते आइतवार
गोरखा — कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लामा कडाइ गर्दै निषेधाज्ञाको अवधि दुई साता लम्बाइएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञा थप गरेका हुन् ।
यसअघि शुक्रबारसम्म निषेधाज्ञा थियो । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रजिअ शालिग्राम शर्मा पौडेलले बताए । ‘संक्रमणको दर जोखिमयुक्त देखिएकाले साविकको निषेधाज्ञाभन्दा केही कडाइ गरेका छौं,’ उनले भने । जिल्लाभर हाल ४ सय ५८ सक्रिय संक्रमित छन् । संक्रमण पुष्टि भएकामध्ये ५१ जना निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिक्लन र हिँडडुल नगर्न प्रशासनले आग्रह गरेको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दही, माछा, मासु, कृषिजन्य बीउबिजन, मल, पशुपक्षीको दाना बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न भनिएको प्रशासनका अधिकृत हर्क रोकाले बताए ।
यसअघि बिहान र बेलुकी दुई–दुई घण्टा खुल्ने पसलमा अत्यधिक भीडभाड हुने र संक्रमणको जोखिम बढेको गुनासो आएपछि एक समय मात्र पसल खोल्न दिने निर्णय गरिएको हो । निर्माण सामग्रीका पसल पनि बेलकी ७ बाट ९ बजेसम्म खोल्न अनुमति दिइएको छ । निर्माण सामग्री ढुवानीका साधन भने बेलुकी ७ बजेबाट बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको रोकाले बताए । अत्यावश्यकबाहेक बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा पनि रोक लगाइएको छ ।
गोरखा नगरपालिका क्षेत्रका बैंकलाई जेठ ७ सम्म आकस्मिकबाहेकका अन्य सेवा बन्द गर्न भनिएको छ । अन्य पालिकाको हकमा भने सम्बन्धित पालिकाको निर्णयअनुसार गर्नरगराउन भनिएको प्रशासनले जनाएको छ । अन्य वित्तीय संस्थाहरू सहकारी, लघुवित्त, इन्स्योरेन्सका सेवाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय बैठकले गरेको छ । गोरखाभन्दा बाहिरी जिल्लाबाट हुने तरकारी ढुवानी पनि पूर्ण रूपमा बन्द गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij