२०८२ चैत्र १ गते आइतवार
बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्। उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ। यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ। अधिकांश मानिस डराएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ। रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij