Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

दाहसंस्कारका लागि लगिएकी महिला कफिनभित्रै जीवित भेटिएपछि...

दाहसंस्कारका लागि लगिएकी महिला कफिनभित्रै जीवित भेटिएपछि...


  • 659
    Shares

    दाहसंस्कारका लागि लगिएकी महिला कफिनभित्रै जीवित भेटिएपछि...
    images

    थाइल्याण्डमा अन्तिम संस्कारका लागि पुर्‍याइएकी एक महिला कफिन भित्रै जीवित फेला परेकी छिन्।

    बैंककको बाहिरी भागमा रहेको नन्थाबुरी प्रान्तको ‘वाट रात प्रखोङ थाम’ मन्दिरमा दाहसंस्कारका लागि ल्याइएकी ६५ वर्षीया महिला कफिनभित्रै चल्मलाउन थालेपछि मन्दिरका कर्मचारी र आफन्तहरू चकित परे।

    मन्दिरले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको भिडियोमा ती महिला ट्रकको पछाडि राखिएको सेतो कफिनमा पल्टिएको र विस्तारै हात तथा टाउको हल्लाइरहेको देख्न सकिन्छ। मन्दिरका सामान्य तथा आर्थिक मामिला प्रबन्धक पैरात सुदथुपका अनुसार कफिन भित्रबाट सानो आवाजमा ढकढक गरेको सुनिएको थियो।

    ‘म अलि छक्क परेँ, त्यसैले मैले उनीहरूलाई कफिन खोल्न लगाएँ, र सबैजना झसङ्ग भए,’ एसोसिएटेड प्रेससँग कुरा गर्दै सुदथुपले भने, ‘मैले उनलाई थोरै आँखा खोलेको र कफिनको छेउमा ढकढक गरिरहेको देखेँ। उनले पक्कै पनि केही समयदेखि ढकढक गरिरहेकी हुनुपर्छ।’

    ती महिलाका भाइले उनलाई फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि करिब ५०० किलोमिटर टाढा बैंकक ल्याएका थिए। भाइका अनुसार उनकी दिदी विगत दुई वर्षदेखि ओछ्यानमा थिइन्। दुई दिनअघि उनको स्वास्थ्य अवस्था बिग्रियो, उनी अचेत भइन् र सास फेर्न छोडेको जस्तो देखियो।

    दिदीले पहिले नै आफ्नो अंगदान गर्ने इच्छा व्यक्त गरेकी हुनाले भाइले उनलाई कफिनमा राखेर बैंककको अस्पताल ल्याएका थिए। तर, आधिकारिक मृत्यु दर्ता प्रमाणपत्र नभएको भन्दै अस्पतालले अंगदान स्वीकार गरेन।

    त्यसपछि भाइले आइतबार निःशुल्क दाहसंस्कार सेवा दिने उक्त मन्दिरमा सम्पर्क गरे। तर, मन्दिर प्रशासनले पनि आवश्यक कागजात नभएको भन्दै तत्काल दाहसंस्कार गर्न मानेन।

    प्रबन्धक सुदथुपले भाइलाई मृत्यु दर्ता प्रमाणपत्र कसरी बनाउने भनेर प्रक्रिया बुझाउँदै गर्दा अचानक कफिनबाट आवाज आएको थियो। जीवित रहेको पुष्टि भएपछि मन्दिरका कर्मचारीले तत्काल उनको स्वास्थ्य जाँच गरी नजिकैको अस्पतालमा पठाएका थिए।

    थाइल्याण्ड न्युज वेबसाइटका अनुसार चिकित्सकहरूले उनलाई ‘सिभियर हाइपोग्लाइसेमिया’ (रगतमा चिनीको मात्रा अत्यधिक कम हुने अवस्था) भएको पत्ता लगाएका छन्।

    चिकित्सकले उनको मुटु वा श्वासप्रश्वास बन्द नभएको तर सुगर लेभल खतराको स्तरमा झरेको पुष्टि गरे। मन्दिरका मुख्य भिक्षु (एबोट) ले ती महिलाको सम्पूर्ण उपचार खर्च मन्दिरले नै ब्यहोर्ने जानकारी दिएका छन्। यो घटनाले स्थानीय स्तरमा र सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ।

    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - १०:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij