२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ । अलायन्सले आआईतवार एक विज्ञप्ती जारी गर्दै बसोवास उठाएर द्वन्द्व सिर्जना गर्न भन्दा पनि समस्या समाधानको बाटो अप्नाउन सुझाएको हो ।
भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन गर्दै आएकोमा उनीहरूमाथि निरन्तर प्रहार र सास्ती दिदै देशभित्रै आप्रवासी जस्तो व्यवहार गरी बास खोस्ने कार्यको अलायन्सले घोर निन्दा गरेको छ ।
जारी वक्तव्यमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र उपयुक्त विकल्प नदिईकन सम्बन्धित क्षेत्रबाट फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली जनताको यति ठूलो हिस्सा आझै देशमा कसरी भूमिहिन र विस्थापित बनाइए भन्ने ऐतिहासिक श्रृङखलावद्ध राज्यको बद्मासी, सामाजिक असंवेदनशिलता, विभेद, द्वन्द र बहिष्करणको ख्याल नराखि यस्ता निर्णय गरिनु खेदजनक छ । मौजुदा ऐन,कानूनले बस्ती हटाउने प्रकृया र अधिकारबारे स्पष्ट व्यवस्था गरेको भएपनि त्यसलाई पूरा नगरिकन आतंक र भयको वातावरण सिर्जना गरिएको छ । यसले नागरिकको अधिकारलाई कुण्ठित गरेको छ ।’
जेनजी मुभमेन्ट अलायन्सले भूमि अधिकारलाई जनताको पहिचान, आवासीय प्रयोजन र उत्पादनसँग सम्बन्धित नैसर्गिक अधिकारको रूपमा स्थापित गर्दै भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्न बाध्य जनसमुदायको समस्या राज्यले समाधान गर्न आवश्यक रहेको बताएको छ ।
अलायन्सले सम्बन्धित समुदायसँगको सहमतीमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौं महानगरपालिकाले उदाहरण प्रश्तुत गर्नुपर्नेमा जोड दिएको छ । निहत्था, उत्पीडित जनताहरू माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन समेत महानगरलाई अलायन्सले चेतावनी दिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij