२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ। यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो।
गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए।
अहिले बन्धक रिहा गरिने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिन फर्किने आशा जागेको छ। विपिनका बुवा महानन्दले भनेका छन्, ‘आइतबारदेखि हमासले बन्धक मुक्त गर्ने खबर सुनिँदै छ। युद्ध अन्त्यले आशा पलाएको छ।’
बिपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij