२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकारयुवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन् ।
जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन् ।
जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन् । काठमाडौं प्रहरी परिसर प्रमुख रमेश थापा केही बरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालकहाँ गएका थिए ।
गृहमन्त्रीसँगको छलफल पनि जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा कुराकानी भएको थियो तर टुंगोमा पुगेन ।
स्रोतका अनुसार गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखेका थिए । तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ सचेत गराएका थिए ।
साथै उनले यो विषयमा प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको बताएको एक सहभागीले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij