२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ । क्षति हुँदाहुँदै भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ।
आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइन मार्फत भने राजस्व संकलन भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको अर्थ स्रोतले जनाएको छ भने भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिएको छ ।
त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम, सिन्धुली, विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ ।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेको उनले बताए ।मन्त्रालयको मूलभवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको उनले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij