२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बौं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नुपरेको छ ।
दैनिक औसतमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण कार्यालयमा मानवीय र भौतिक क्षति नभएकाले काम गर्न सहन भएको बताए । ‘जेनजी समूहको प्रदर्शन र आन्दोलनका कारण मङ्गलबार र बुधबार दुई दिन भन्सार जाँचपासको काम लगभग ठप्प जस्तै रह्यो’, उनले भने- ‘बिहीबार भने अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधिजन्य पदार्थको जाँचपासको काम भएको छ । बिहीबार मात्रै करिब रु १० करोड भन्सार राजस्व सङ्कलन भएको छ ।’
प्रमुख भन्सार प्रशासक ज्ञवालीले आज बिहानदेखि अत्यावश्यक वस्तुको जाँसपास प्रक्रिया अघि बढाइएको जानकारी दिए । पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि नियमित काम गरिने उनले बताए ।
प्रमुख भन्सार प्रशासक ज्ञवालीले शुक्रबारदेखि भने अत्यावश्यक सामान, बारा र पर्सामा जाने औद्योगिक वस्तु तथा सामानको पनि भन्सार जाँचपास प्रक्रिया अघि बढाइने जानकारी दिए ।
‘हाम्रो एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा आएका मालवाहक समानलाई सुरक्षित राखेका छौँ । स्थानीय प्रशासनले जाँचपास भएका मालवाहक सवारीसहितको समानलाई लैजाने सुरक्षा प्रत्याभूति गर्छ भने हामीले सबै खालका सामान पठाउन तयार छौँ’, उनले भने, ‘अहिले भन्सार कार्यालयमा केही आपूर्तिकर्ता आ-आफ्नो मालसमानको भन्सार जाँचपास प्रक्रिया अघि बढाउन आइरहनुभएको छ ।’
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई गत आव २०८१/८२ मा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो, तर लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको थियो ।
यद्यपि, कार्यालयले अघिल्लो आव २०८०/८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्र राजस्व सङ्कलन भएको थियो ।
विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई गत आव आव २०८१/८२ मा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।
विभागले अघिल्लो आवमा भने सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व लक्ष्य निर्धारण गरेकामा रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार सङ्कलन गरेको छ ।
चालु आवको साउन १ गतेदेखि भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । चालु आवको साउन महिनामा गाभिएका दुवै भन्सार कार्यालयले रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेका छन् ।
कार्यालयका अनुसार चालु आवको साउन महिनामा लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ । साउनमा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।
कार्यालयले गत आवको साउन महिनामा रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको जनाएको छ । त्यसबेला रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij