२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले छड्के चेकजाँच गर्दै यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यकाबाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेभन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेको र टोलीले त्यस्ता स्थानहरुमा गई कहिले आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने र कहिले यात्रुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको ट्राफिक महाशाखाले जनाएको छ।
कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरादहका ४२ वर्षीय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरेको छ।
काठमाडौंदेखि पूर्व झापा, मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि ४५ सयसम्म भाडा लिने इन्द्रेणी हाइसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको सार्वजनिक बसका कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ।
बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij