२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१\८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोड मात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो ।
अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१\८२ मा सरकारले लिने ऋण समेत घटेको छ । आर्थिक वर्ष २०८१\८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ ।
अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०\८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो । लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो ।
अघिल्लो वर्षको तुलनामा २०८१\८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
कुल वैदेशिक सहायतातर्फ २०८१\८२ मा सरकारले २ खर्ब ६९ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आर्थिक वर्षमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो ।
अघिल्लो आर्थिक वर्षमा सरकारले वैदेशिक सहायतातर्फ २ खर्ब ६२ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आर्थिक वर्षमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ ।
जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६.९८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij