२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । बेलायतको नेपाली समाजमा पहिलोपटक सार्वजनिक रूपमा आयोजना गरिएको साताव्यापी श्रीमद्भागवत कथा लन्डनको साउथलस्थित विश्व हिन्दु मन्दिरमा सम्पन्न भएको छ।
नेपालका वैदिक प्रवचनकार पण्डित कुवेर सुवेदीको मुख्य उपस्थितिमा गत मंगलवारदेखि सुरु भएको कथा सोमबार साँझ वैदिक परम्परा र भक्तिमय वातावरणबिच सम्पन्न भएको हो।
आयोजक धर्मदर्शन फाउण्डेशनले सात दिन अवधिमा करिब तीन हजारभन्दा बढी भक्तजनले कथा श्रवण गर्ने अवसर पाएको दाबी गरेको छ।
समापन समारोहमा भारतका विख्यात शिवपुराण वाचक गुरु गिरीवापु विशेष अतिथिका रूपमा सहभागी भए। उनले नेपालीहरू भेट्दा आफूलाई पशुपतिनाथको प्रत्यक्ष दर्शन पाएको अनुभूति हुने बताए।
श्रीमद्भागवत कथा सुन्न बेलायतका विभिन्न सहरहरूमात्र नभई बेल्जियम जस्ता युरोपेली मुलुकबाट समेत भक्तजनहरू आएका थिए। लिस्टर, पिटरबरो, कोभेन्ट्री, रेडिङ, अल्डरशट र इष्ट लन्डन लगायतका सहरहरूबाट भक्तजनको निरन्तर आगमन हुँदा साउथल मन्दिर एक हप्तासम्म धार्मिक यात्रास्थलमा परिणत भएको थियो।
संयोजक श्रीबालेश्वरी देवीले कार्यक्रममा सङ्कलन भएको आर्थिक हिसाबकिताब सार्वजनिक गर्दै खर्च कटाएर बचेको रकम देवघाटमा रहेको धर्मदर्शन फाउण्डेशनमार्फत आश्रममा खर्च गरिने बताइन्। कार्यक्रममा अन्त्यमा भक्तजन तथा सहयोगदाताहरूलाई विशेष सम्मान गरिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij