२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । अमेरिकी सरकारले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन नेपाल सरकारलाई जानकारी गएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको बताएका छन् । उनले अमेरिकी सरकारले एमसीसीलाई निरन्तरता दिने गरेको निर्णयबारे नेपाल सरकारलाई जानकारी आएको बताएका हुन् ।
अमेरिकामा रहेको एमसीसी मुख्यालयले गत शुक्रबार एक विज्ञप्ति जारी गरी एमसीसीको पोर्टफोलियोको वैदेशिक सहायता समीक्षा सम्बन्धी कार्य सम्पन्न भएको जनाएको छ । उक्त समीक्षा सम्बन्धी कार्य सम्पन्न पछि निकालेको विज्ञप्तिमा भनिएको छ,‘ यो समीक्षाबाट एमसीसी पोर्टफोलियो ट्रम्प प्रशासनको अमेरिका पहिलो वैदेशिक नीतिसँग मेल खाने र एमसीसीले अमेरिकालाई अझै सुरक्षित, बलियो र समृद्ध बनाउन निरन्तर काम गरिरहने छ ।
एमसीसीको विज्ञप्तिले एमसीसीले अमेरिकालाई अझै सुरक्षित, बलियो र समृद्ध बनाउन निरन्तरता दिने सङ्केत गरेको छ । नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो । तर, उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो ।
अमेरिकाको ५०० मिलियन डलर र नेपालको १ सय ९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij