२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ ।
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तसम्ममा बक्यौता रकम तिर्न अन्तिम ताकेता दिएको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले सार्वजनिक सूचना जारी गर्दै अन्तिम ताकेता दिएको छ । सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था ताकेता परेका हुन् ।
समितिका अनुसार आगामी भदौ ३१ भित्र कुनै पनि ऋणीले आफ्नो बाँकी साँवा वा ब्याज रकम बुझाउन अस्वीकार गरेमा, कानुन बमोजिम ब्याजसहित हर्जाना रकम समेत संकलन गरिने भएको छ ।
सूचना मार्फत ऋण तिर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने ऋणीहरूप्रति तोकिएको म्यादभित्र नआए कानुनी कारवाही गरिने स्पष्ट चेतावनी दिएको छ ।
ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको हो । सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।
यसअघि समितिले फोन, व्यक्तिगत सम्पर्क र अन्य माध्यमबाट पनि ऋण तिर्न आग्रह गरिसकेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij