२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ ।
गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ । आयल निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बिहीवार विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । नेपाल आयाल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज हस्तान्तरण गरेको छ । भदौमा टेण्डर गर्ने तयारी रहेको छ ।
गत मंसिरमा आयल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । सोहीअनुसार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज आयल निगम सिनामंगललाई डिपिआर बुझाएको हो ।
डिपिआर हस्तान्तरण कार्यक्रममा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरु पुराना मोडलको रहेको बताउँदै अब बन्ने प्रोजेक्ट अत्याधुनिक प्रविधिको बन्ने बताए । उनकाअनुसार सरकारी इन्जिनियरहरुबाट पहिलो पटक ६ अर्ब ५४ करोडको प्रोजेक्टको डिपिआर निर्धारित समय भित्रै बुझाउने काम भएको छ ।
यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सघाउ पुग्नेछ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको बताउनु भयो । उनले जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डिपिआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको बताए । उनले डिपिआर निर्माणको काम नेपालीहरुले राम्रोसँग गर्नसक्ने बताए ।
कार्यक्रममा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा। सुरज लामिछानेले निगमसँगको सम्झौताअनुसार नै संस्थानले समयमै काम सकेर डिपिआर बुझाएको बताए ।
सहप्रध्यापक लामिछाने भन्नुभयो–‘इन्जिनियरिङ कलेजका सम्पूर्ण प्राविधिकहरुको सहयोगमा समयमै काम सम्पन्न गरेर आयल निगमलाई डिपिआर बुझाउन सफल भएका छौं । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद । आयल निगमले जुन प्रकारको इनर्जि देखायो त्यसले आगामी दिनमा नेपालका इन्जिनियरहरुलाई समेत अघि बढ्न ठूलो सहयोग मिल्नेछ ।’
त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको भन्दै आलोचित हुनुपरिरहेको छ । हालको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दासमेत जोखिममा छन् ।
विमानस्थलको ट्याक्सी वे समेत डिपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । आयल निगमकाअनुसार डिपिआर तयार भएसँगै आवश्यक प्रक्रिया तत्कालै अघि बढाइनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij