२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
विधान महाधिवेशनको मिति नजिकिएसँगै एमालेले त्यसको तयारी गर्न सचिवालय बैठक बोलाएको छ ।
सचिवालय बैठकले विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्न कुनै नेताको संयोजकत्वमा समिति बनाउने वा त्यसको जिम्मा संगठन विभागलाई दिने भन्ने निर्णय गर्ने नेताहरूको भनाइ रहेको छ ।
संशोधित विधानको खाकामा प्रदेश, जिल्ला र स्थानीय तहको सुझाव समेटेर विधान महाधिवेशनमार्फत पारित गर्नुपर्ने एमालेको वैधानिक व्यवस्था छ ।
समग्र कामको संयोजन गर्ने गरी निर्णय गरेपछि एमालेलाई आजैबाट विधान महाधिवेशन लाग्ने देखिएको छ । आन्तरिक तयारी अभावमा विधान महाधिवेशन सर्छ कि भन्ने कतिपय नेताहरूको भनाइ आइरहेपनि प्रचार विभाग प्रमुख गौतम विधान महाधिवेशन सार्नुपर्ने कुनै कारण नरहेको बताउँछन् ।
एमालेमा खासगरी ७० वर्षे उमेर हदको विषय बढी चर्चामा छ । पहिलो विधान महाधिवेशनले ७० वर्षे उमेर हद लगाए पनि बिचमा उक्त व्यवस्था निलम्बन गरिएको छ । सो व्यवस्था निलम्बन नै गरेर जाने वा ७० वर्षे उमेर हद कायम गर्ने भन्ने एमालेमा दुई धार छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij