Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एयरपोर्टमा कर्मचारीकै ‘घुस बाँडफाँड समिति’, सफ्टवेयरमा राख्थे हिसाब

एयरपोर्टमा कर्मचारीकै ‘घुस बाँडफाँड समिति’, सफ्टवेयरमा राख्थे हिसाब


  • 2.3K
    Shares

    एयरपोर्टमा कर्मचारीकै ‘घुस बाँडफाँड समिति’, सफ्टवेयरमा राख्थे हिसाब

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुस रकम बाँडफाँडका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गर्ने गरेको खुलेको छ ।

    विमानस्थलमा भिजिट भिसामा जानेहरुबाट भएको असुलीबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, विमानस्थल अध्यागमनमा पछिल्लो समय अनियमितता चरम विन्दुमा पुगेको थियो ।

    ‘यस्तोमा कर्मचारीहरूले घुस रकम बाँडफाँडका लागि एउटा सफ्टवेयर नै प्रयोग गर्ने गरेको सूचना पाएका छौं’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पहिले हामीलाई विश्वास लागेको थिएन, तर पछि धेरै कर्मचारीहरुले त्यसको पुष्ट्याइँ भएको जानकारी दिएका छन् ।’

    उनका अनुसार, अख्तियारलाई भिजिट भिसाका नाममा भइरहेको असुलीबारे प्रारम्भिक सूचना आएकै बेला यो सफ्टवेयरबारे पनि सूचना आएको थियो । त्यही हिसाबमा रंगेहात समात्ने उद्देश्यसहित अख्तियारको टोली ५ जेठदेखि ‘कोभर्ट अपरेशन’मा खटिएको थियो ।

    तर, अख्तियारले विमानस्थलमा छानबिन गरिरहेका बेला तेस्रो दिन यससम्बन्धी सूचना गृह प्रशासनलाई चुहियो । अख्तियारले छानबिन गरिरहेको थाहा पाएपछि गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराईको आकस्मिक सरुवा गरेका थिए ।

    ‘सूचना चुहिएकै कारण सफ्टवेयरसहित समात्ने योजना सफल हुन सकेन’, अख्तियार स्रोतले भन्यो, ‘यद्यपि, अरु कर्मचारीहरुसँग गरिएको सोधपुछका क्रममा त्यसबारे केही तथ्य आएका छन् ।’

    घुस बाँडफाँडका लागि कर्मचारीले छुट्टै समिति बनाउने गरेको आयोगको अधिकारीहरु बताउँछन् ।

    ‘विमानस्थल अध्यागमनमा तीन सिफ्टमा कर्मचारीहरु परिचालन हुँदा रहेछन्, तीन वटै सिफ्टमा फरक–फरक डिपार्चर अफिसर (डिओ) हुने रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘क–कसलाई भित्र प्रवेश गराउने भन्ने अन्तिम निर्णय उनीहरुकै हुने रहेछ, त्यही कारण सेन्ट्रल तथ्यांक राखेर रकम बाँडफाँड गर्ने गरिएको रहेछ ।’

    अधिकारीहरुका अनुसार, कहिलेकाहीँ झुक्किएर सेटिङभन्दा बाहिरका मानिस कट्दा विमानभित्र प्रवेश गरिसकेको व्यक्तिलाई समेत फर्काएको खुलेको छ ।

    ‘सामान्यतः असुली गरिएकाहरुको नामसहित सूची नै आउने रहेछ, तर कहिलेकाहीँ क्याप लगाएको मान्छे अथवा यस्तो लुगा लगाएको मान्छे भन्ने हुँदो रहेछ’, ती अधिकारीले भने, ‘क्याप वा कपडाका आधारमा भनिएको मान्छेको ठाउँमा उस्तै हुलियाको अर्को मान्छे गएपछि कतिपय अवस्थामा फर्काएको अनुभव समेत कर्मचारीहरुले सुनाएका छन् ।’

    स्रोतका अनुसार, यो शैलीबाट मानिसहरु छुट्याउन गाह्रो हुने भएपछि पछिल्लो समय विमानस्थल अध्यागमनमा महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पास गराउने गरिएको थियो ।

    images
    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०५:२३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij