Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गौतमबुद्ध क्रिकेट रंगशालाको १८ करोड ४३ लाख बक्यौता, वर्षौंदेखि सिंहदरबार धाउँदै धुर्मुस सुन्तली

गौतमबुद्ध क्रिकेट रंगशालाको १८ करोड ४३ लाख बक्यौता, वर्षौंदेखि सिंहदरबार धाउँदै धुर्मुस सुन्तली


  • 2.1K
    Shares

    गौतमबुद्ध क्रिकेट रंगशालाको १८ करोड ४३ लाख बक्यौता, वर्षौंदेखि सिंहदरबार धाउँदै धुर्मुस सुन्तली

    चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको १८ करोडभन्दा बढी बक्यौता फरफारकका लागि भरतपुर महानगरपालिकाले संघीय सरकारलाई पत्राचार गरेको छ । केही दिनअघि बसेको महानगरको कार्यपालिका बैठकबाट निर्णय गरेर संघीय सरकारलाई अनुदानका लागि पत्र पठाइएको हो ।

    रंगशालाका लागि उधारोमा निर्माण सामग्री उपलब्ध गराएका व्यवसायीहरूले लामो समयसम्म भुक्तानी पाएका छैनन् । महानगरले धुर्मुस सुन्तली फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिए पनि ऋण/उधारो सकार्न आनाकानी गरिरहेको थियो । पछिल्लो समय व्यवसायीहरूले लगातार ताकेता गरेपछि महानगरले नयाँ शिराबाट पहल सुरु गरेको हो । भुक्तानी नपाएको खण्डमा आफूहरू महानगरविरुद्ध अदालत जाने चेतावनी व्यवसायीहरूले दिइरहेका छन् ।

    भरतपुर महानगरपालिकाले गरेको अडिट रिपोर्ट अनुसार रंगशालाका लागि उधारोमा ल्याइएका निर्माण सामग्रीहरूको १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त रकम भुक्तानीका लागि महानगरकै सिफारिसमा संघीय मन्त्रिपरिषदले दुई पटक निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार २०८१ असार १६ गते १२ करोड रुपियाँ निकासा गरेर महानगरलाई पठाइएको पनि थियो । तर, महानगरले सरकारको सो रकम समयमै भुक्तानी नगरेर यत्तिकै फ्रिज भयो र आर्थिक वर्ष सकिएपछि केन्द्रमै फर्कियो । त्यसयता उक्त बक्यौता रकमबारे कुनै निर्णय हुन सकेको छैन ।

    भरतपुर महानगरसँगको समन्वयमा जनस्तरबाट रंगशाला निर्माणको पहल गरेको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक समस्याका कारण बीचमै हात झिक्नु परेको थियो । फाउन्डेसनले निर्माणलाई निरन्तरता दिन नसकेपछि आपसी सम्झौता अनुसार महानगरले स्वामित्व लिएको छ । करिब ६३ करोडको निर्माणाधीन संरचनाको स्वामित्व लिए पनि महानगरले १८ करोड ४३ लाखको बक्यौता तिरेको छैन । यसका लागि धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस वर्षौंदेखि सिंहदरबार धाइरहेका थिए ।

    व्यवसायीहरूले सुरुमा रकम भुक्तानीका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई दबाब दिँदै आए पनि अहिले उनीहरूले महानगरलाई नै जिम्मेवार ठहर्‍याएका छन् । केही दिनअघि उनीहरूले ज्ञापनपत्र बुझाएर उधारो भुक्तानीका लागि अल्टिमेटम दिएका थिए ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १२:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij