२०८२ भाद्र १२ गते बिहिवार
गोरखा । कोदो खेती हुने जग्गामा धार्चे गाउँपालिका–२ रुन्चेतका वीरबहादुर गुरुङले सात वर्षअघिबाट किवी खेती थाले । २०७४ मा पाँच वटा बिरुवाबाट खेती सुरु गरेका गुरुङले क्षेत्र विस्तार गर्दै ३० बोट पुर्याएका छन् । यस वर्ष मात्र ३० मध्ये १५ बोटमा लटरम्म किवी फलेको छ ।
तर उत्पादित किवीले बजार नपाएको गुरुङ गुनासो गर्छन् । ‘मंसिरदेखि किवी पाक्न सुरु भयो, पुसमा पात र भुवा झर्छ,’ उनले भने, ‘लटरम्म फलेको किवी घरमा ल्याएर थन्काएर राखेको छु, बजार नपाएर त्यसै बिग्रने जोखिम बढ्यो ।’
यस वर्ष झन्डै १० क्विन्टल किवी उत्पादन भएको गुरुङले जनाए । ‘खेताला खोजेर डोकोमा बोकाएर पाँच क्विन्टल जति किवी माछाखोला बजार पुर्याएँ,’ उनले भने, ‘चिसो ठाउँ चाहिँदो रहेछ, सिमेन्टको मझेरीमा अझै पाँच क्विन्टल असरल्ल छ, एकसरो बनाएर राख्नुपर्ने नराखे बिग्रन्छ ।’
उत्पादन सुरु भएको वर्षदेखि नै बिक्री गर्न समस्या परेको गुरुङले बताए । ‘गाउँमा किवी खेती गर्ने किसानको संख्या बढ्दै छ, यो वर्ष गाउँभरमा दुई सयभन्दा बढी बोटमा किवी फल्यो, धेरै किसानले बजार नपाएर अझै घरमै राखेका छन्,’ उनले भने, ‘गत वर्ष पनि आफन्त, छिमेकीलाई बाँड्यौं, केही बेच्यौं, यो वर्ष भएका कटाउन मुस्किल छ ।’
गाउँमा पुगेका ग्राहकलाई प्रतिकिलो एक सय ५० रुपैयाँमा बेचेको उनले सुनाए । डोकोमा बोकाएर माछाखोला पुर्याएको किवी दुई सय रुपैयाँसम्ममा बिक्री गरिएको छ । ल्होसारका अवसरमा गाउँमा हुने सांस्कृतिक कार्यक्रममा बचेका किवी बिक्री गर्ने गुरुङको योजना छ । ‘यहाँ पनि बिकेन भने अब चितवनसम्म पुर्याउने योजना छ,’ गुरुङले भने ।
उत्पादित किवीले भाउ पाए पनि यातायात असुविधाका कारण बजार पुर्याउन नसकिएको रुन्चेतका किसान बताउँछन् । बर्खाले बिगारेको ग्रामीण सडकमा पुस पहिलो साताबाट बल्ल गाडी चल्न थालेको छ । ‘बाटो राम्रो भइदिए गाडीमा बजार झार्न हुन्थ्यो, दुर्गम ठाउँ बाटोकै असुविधा छ,’ गुरुङले भने । थोरै लगानीमा किवी खेती हुने भएकाले किसानको आकर्षण भने बढेको गुरुङले सुनाए । झन्डै आठ रोपनी क्षेत्रफलमा उनले किवी खेती गरेका हुन् ।
एउटै बोट किवीले ५० वर्षसम्म उत्पादन दिने किसान बताउँछन् । तर ठूला सहरमा पनि किवीले बजार नपाएको रुन्चेतकै चन्द्रमान गुरुङले जनाए । यस वर्ष आठ क्विन्टल किवी फलाएका चन्द्रमानले काठमाडौं पुर्याउँदा पनि बिक्री गर्न मुस्किल परेको बताए । ‘चार क्विन्टल किवी गाडीमा राखेर काठमाडौं पुर्याएको थिएँ, बिक्री गर्न गाह्रो परेपछि मन्डीमा छाडेर आएँ,’ उनले भने, ‘किवी राम्रो फले पनि खासै बजार पाउन सकेन ।’
रुन्चेतमा मात्र यो वर्ष २० क्विन्टलभन्दा बढी किवी फलेको स्थानीयले जनाए । किवी खेतीका लागि हावापानी र वातावरण अनुकूल हुँदा पनि किसानको आकर्षण बढेको छ । धार्चे–६ काशीगाउँमा पनि ६० बढी घरधुरीले किवी खेती थालेका छन् । तर उत्पादित किवीले बजार नपाएको काशीगाउँका धनमान गुरुङको भनाइ छ ।
‘उत्पादन छ, बजार छैन,’ धनमानले भने, ‘ठूलो बजारमा लगे पनि बिक्री गर्नै गाह्रो पर्दोरहेछ, एक ठाउँमा मात्र राखेर सबै बिक्दैन, ठाउँ सर्दै किलोको हिसाबले कति दिन बजार बसेर बेचौं भने गाडीको ढुवानी तिर्नुपर्यो, होटलमा बस्नुपर्यो गर्दा उही हुन्छ ।’
धनमानले यस वर्ष फलाएको किवी आरुघाट झारेर बिक्री गरे । ‘६ सय केजी जति फलेको थियो, आरुघाट झारेर बिक्री गरें, अझै बाँकी पनि छ,’ उनले भने, ‘दुर्गमको ठाउँ, ठूलो बजार पनि छैन, यसो हुँदा गाउँभरकै किवी बिक्री गर्न समस्या छ ।’ धार्चे गाउँपालिकामा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरणका लागि पालिकाले पनि यस वर्ष पाँच लाख बजेट छुट्याएको छ ।
‘धार्चेमा उत्पादित वस्तुलाई बजारीकरण कार्यक्रमअन्तर्गत पाँच लाख बजेट छुट्याएका छौं, टिमुर, आलुलगायत रैथाने कृषि उपजलाई बजारीकरणमा सहयोग गर्ने योजनामा छौं,’ गाउँपालिकाका कृषि शाखाका अनिल नेपालीले भने, ‘अब यही कार्यक्रममा किवी खेतीलाई पनि समेट्छौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij