२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासा राख्नका लागि विभिन्न नम्बर प्रयोग गर्न सक्ने व्यवस्था छ । कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरमार्फत कम्पनीमा प्रदत्त विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सक्ने जनाइएको छ ।
सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बर ग्राहककै सहजताका लागि निःशुल्क गरिएको टेलिकमको भनाइ छ ।
१९१- (कस्टुमर सेवा)
जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाबारे जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिने टेलिकमले जनाएको छ । १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमका लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्नेछ । त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिने टेलिकमले जनाएको छ ।
१९७- (नम्बर सोधपुछ)
नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात् स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिने टेलिकमले जनाएको छ ।
त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ । हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंकमा गएर पनि खोज्न सकिन्छ ।
व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ ।
१९८- (मर्मत सेवा)
नेपाल टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्नुपर्छ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ । त्यसपछि दिइएको निर्देशन अनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्ने टेलिकमको भनाइ छ ।
१४९८- (मोबाइल सेवा)
मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्नुपर्ने टेलिकमको भनाइ छ । मोबाइल तथा वाइम्याक्स सेवासम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगबारे कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij