२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।
सहकारी ठगीसम्बन्धी समाचार आउन थालेपछि हतार–हतार गठबन्धन बनाएर गृहमन्त्री भएका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान दबाउन खोजेका थिए । तर, संसद्मा निरन्तर आवाज उठेपछि बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई ‘प्रचलित कानुनअनुसार कारबाही गर्न’ नेपाल सरकारलाई लेखी पठाएको थियो ।
संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले कात्तिक २ मा लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको थियो । त्यसअघि र पछि प्रहरीले प्राप्त गरेका प्रमाणले सहकारीसँगको कारोबार र ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेका छन् । उनले काटेका चेकको प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ ।
प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए । यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ ।
‘स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘त्यस्तै पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ ।’ त्यस्तै रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको पनि प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । यो समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij