२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार, लमजुङको आयोजनामा यही पुस ७ गते शनिवारका दिन ३४औँ भौतिक कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवर को प्रमुख आतिथ्यमा मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदीबजारमा सानदाररूपमा सम्पन्न भयो ।
गोष्ठीमा स्थानीय स्रष्टाहरूको सघन उपस्थिति रहेको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको मञ्चले आयोजना गरेको सो कार्यक्रममा छन्द कविता, मुक्तछन्द कविता, लोकछन्द कविता, खोरिया, चारु, गजल, मुक्तक आदि रोचक ढङ्गबाट प्रस्तुत गरिएका थिए । राष्ट्रभक्तिका स्वरले ओतप्रोत जनचेतनामूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका रचनाहरूको आधिक्य रहेको सो कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरूमा प्रमुख अतिथि गोविन्दबहादुर कुँवरलगायत अन्य अतिथिहरू वासुदेव थापा, वसन्त अधिकारी, विष्णुभक्त अधिकारी, शारदा बिसुराल, रामप्रसाद गुरुङ, मिनप्रसाद ढकाल, नारायणप्रसाद ढकाल, भद्रकाली पोखरेल, जगदीश्वर पोखरेल, तीर्थराज अधिकारी, रामबहादुर रानाभाट, प्रकाशचन्द्र पोखरेल, र युवराज खनाल थिए ।
अध्यक्ष जगदीश्वर पोखरेलले १५ वटा कृति एकै पटक ल्याएर नयाँ कीर्तिमान राखेकोमा प्रमुख अतिथि गोविन्द बहादुर कुँवरले बधाई तथा शुभकामना दिए । उनीलगायत उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले पोखरेललाई टीका र फूलमाला अर्पण गरी सम्मान गरेका थिए । कर्मदा सिर्जना मञ्चले भाषा साहित्यको अनवरत सेवा गरिरहेको बताउँदै कुँवरले धन्यवाद तथा उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिए ।
कवि जगदीश्वर पोखरेलले कर्मदा सिर्जना मञ्च, नेपालले भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत कृति प्रकाशित गरिदिएकामा आभार व्यक्त गरे । "यो सम्मान लमजुङको माटोलाई गरिएको हो । मेरा सिर्जना अवश्य पनि लमजुङको माटोले मूल्याङकन गर्ने छ," उनले भने । मञ्चका सचिव रामप्रसाद गुरुङले आमन्त्रित स्रष्टाहरूलाई स्वागत गरे ।
कार्यक्रममा इन्द्रराज पाण्डे,शिवकुमार पोखरेल, केशवप्रसाद पोखरेल, टङ्कराज पोखरेल भूमिनन्दन तिमल्सिना , विष्णुप्रसाद पोखरेल, नानीमाया पोखरेल, विष्णु पोखरेल, विष्णुप्रसाद पौडेल, मोहनदेव लुइँटेल लगायतको उपस्थिति थियो ।
उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदा सिर्जना मञ्चको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गरेका थिए । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल भएकाले सहभागी सम्पूर्ण स्रष्टाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गोष्ठी समापन भएको अवगत गराए । सहसचिव युवराज खनालले सो गोष्ठीको सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij