२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम ‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन भएको छ। सीआईडीमा ‘इन्स्पेक्टर फ्रेडरिक’ को भूमिकामा देखिएका उनको मंगलबार निधन भएको को-स्टार दयानन्द शेट्टीले पुष्टि गरे।
‘दिनेश लामो समयदेखि बिरामी थिए। उनलाई हृदयघात भएको थिएन। स्वास्थ्यमा समस्या देखिएपछि उनी आफैँ अस्पताल गएर भर्ना भए। तर, उपचारकै क्रममा उनको स्वास्थ्यमा थप जटिलता देखिएको थियो,’ शेट्टीले भाष्कर दैनिकसँग भनेका छन्।
दिनेशले मंगलबार बिहान १२:०८ बजे मुम्बईको तुंगा अस्पतालमा अन्तिम सास लिए। भारतीय सञ्चारमाध्यमका अनुसार ५७ वर्षीय दिनेशको मृत्यु ‘मल्टिपल अंग फेल’ का कारण भएको थियो। उनको अन्तिम संस्कार मंगलबार दिउँसो मुम्बईको बोरिवली पूर्वमा गरिने भएको छ।
दिनेशले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए। सुरुका केही एपिसोडमा उनले कडा पुलिस इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरे। पछि उनी हास्यकलाकारको रूपमा परिचित हुन थाले। यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो।
टिभी शो बाहेक दिनेशले मराठी फिल्महरूमा पनि काम गरेका थिए। दिनेशले ‘सरफरोश’ र ‘मेला’ जस्ता फिल्ममा काम गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij