२०८२ भाद्र ७ गते शनिवार
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले मूर्धन्य साहित्यकार तथा भाषाविद्लाई पुरस्कृत गरेको छ । प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि रचना मासिकका सम्पादक तथा मूर्धन्य साहित्यकार रोचक घिमिरेले शङ्कर कोइराला आख्यान पुरस्कार नारायण ढकाललाई, कुमार-सरस्वती पुरस्कार प्रा.डा. दयाराम श्रेष्ठलाई र चूडामणि व्याकरण-कोश पुरस्कार शरच्चन्द्र वस्तीलाई अर्पण गरे ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव तुलसी भट्टराई, साहित्यकार डा. भागवत ढकाल, चूडामणि व्याकरण-कोश पुरस्कारका संस्थापक तथा व्याकरणकार एवम् कोशकार चूडामणि गौतम, शङ्करबहादुर जोशीकी धर्मपत्नी सरस्वती जोशी, साहित्यकार ठाकुर शर्मा भण्डारी, कलाधर काफ्ले, नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल अतिथि थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरेले आफ्नो औकातले भ्याउला त भन्ने प्रश्न हुँदा हुँदै उमेरले आफ्ना अनुज भएकाले अन्यथा नहोला भनेर मन बुझाएको बताए । पुरस्कृत व्यक्तित्वबारे उनले दुर्लभ विषय र लेकखबाट भएका यदाकदाका बेइमानीबारे पनि परिचर्चा गरे । आफूले लेखनी गरेको तथ्यलाई समेत काटेर तोडमोड गर्ने अजिबका लेखक पनि नेपालमा रहेका भन्दै लुकेका तथ्यलाई समेत उनले उद्घाटित गरे । घिमिरेले चूडामणि गौतमको भाषिक लगावको मुक्तकण्ठले सराहना गरे । दायित्व वाङ्मय प्रतिष्ठानले आर्जन गरेको विश्वासलाई अक्षुण्ण राख्न पनि उनले आग्रह गरे ।
चूडामणि व्याकरण-कोश पुरस्कार प्राप्त गर्ने शरच्चन्द्र वस्तीले 'पुरस्कार म कुनै व्यक्तिलाई नभई नेपाली भाषालाई दिइएको हो भन्नेमा म विश्वस्त छु' भन्दै अनर्थ लाग्ने गरी संयुक्त अक्षरको जथाभावी खुट्टो काट्ने निर्णय प्रज्ञाप्रतिष्ठानले फिर्ता लिए पनि विकृत बनाइएको भाषा अझै सच्याइनसकेको दाबी गरे । उनले भाषा सकिएपछि धेरै कुरा सकिने जिकिर गरे ।
त्यसरी नै शङ्कर कोइराला आख्यान पुरस्कारबाट पुरस्कृत वरिष्ठ आख्यानकार नारायण ढकालले आफू पुरस्कृत भएकोमा मूलतः तीन कारण भएको उल्लेख गर्दै दायित्वको आग्रह अस्वीकार गर्न नसकेको, प्रा.डा. दयाराम श्रेष्ठजस्ता पुरस्कृत व्यक्तित्व मूर्धन्य भएको र आफ्नो आख्यान लेखनमा शङ्कर कोइराला प्रेरणाको स्रोत भएको अभिमत प्रकट गरे ।
ठिक त्यसै गरी कुमार-सरस्वती पुरस्कार ग्रहण गरेका प्रा.डा. दयाराम श्रेष्ठले भावुकतापूर्वक कुमारबहादुर जोशीको स्मरण गरे । जीवनको एकासियौँ सिँढी पार गर्दै आफू जस्तो अक्षरको खेती गर्ने किसानलाई सम्मानित गर्दा गौरवान्वित अनुभूत भएको भनाइ राखे । पाठकलाई पानीसँग तुलना गर्दै पानी पाउँदा किसान स्वाभाविक रूपमा खुसी हुने बताए । यो खुसी शब्दबाट आफूले व्यक्त गर्न नसक्ने उनको कथन थियो ।
अध्यक्ष रामप्रसाद पन्तका सुपुत्र विज्ञान पन्त र बुहारी उषा पन्तले अर्को पुरस्कारका निम्ति थप कोशको घोषणा गरे । शङ्कर कोइरालाका सुपुत्र सुनिल कोइरालाले आफ्ना पिताजी साहित्यिक क्षितिजमा उज्ज्वल नक्षत्र भइरहने बताए । त्यसरी नै चूडामणि गौतमले आफूले धेरै नपढेको किन्तु आफूले भन्दा धेरै पनि कसैले नपढेको ठट्यौलो र व्यङ्ग्यात्मक कथन राखे । आफूलाई सात समुद्र पारिको अङ्ग्रेजी व्याकरण लेख्दै गरेको मान्छे चित्रित गर्दै उनले नेपाली भाषाको दुर्दशा देखेर यतातर्फ ध्यान आकृष्ट भएको बताए । बिगारेको भाषा सच्याउने सिलसिलामा आफूले आठवटा पुस्तक निकालेको र अर्को वर्षसम्म कक्षा एकदेखि कक्षा बाह्रसम्मका निम्ति शृङ्खलावद्ध व्याकरण प्रकाशित गर्न लागेको खुलासा गरे । जम्मा एकसय दश पुस्तक प्रकाशित भइसक्दा पनि आफू बिल्कुल नथाकेको उनको प्रस्टोक्ति थियो ।
यसरी नै मोहन दुवालले दायित्व वाङ्मयलाई धन्यवाद दिँदै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरे । कार्यक्रममा प्रमुख अतिथि घिमिरेले चूडामणि गौतम, अनिल कोइराला तथा सुनिल कोइरालाका साथै समाजसेवी तथा साहित्यकार वसन्त रिजाललाई कदरपत्र प्रदान गरे । कार्यक्रममा डा.लेखप्रसाद निरौलाले स्वागत मन्तव्य प्रकट गरेका थिए भने भागवत ढकालले पुरस्कृत व्यक्तित्वबारे सङ्क्षिप्तमा आफ्नो अभिमत जाहेर गरे ।
कार्यक्रमको सहजीकरण दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव यादवप्रसाद भट्टराईले गरेका थिए भने कार्यक्रमको अध्यक्षता एवम् समापन प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले गरेका थिए । समापन मन्तव्य प्रकट गर्दै उनले पुरस्कृत व्यक्तित्वले सहजै पुरस्कार ग्रहण गरिदिएकामा सन्तोष व्यक्त गर्दै सम्पूर्ण आगन्तुक तथा अभ्यागतहरूप्रति आभार व्यक्त गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij