२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् ।
रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मान्छे नै लामो समयदेखि सम्पर्कमा नहुँदा परिवार निकै पीडामा रहेको, परिवारबाट मलेसियामा रहेको दूतावास, विभिन्न संघसंस्था तथा नेपाली समुदायसँग अपिल गरिसकेको भन्दै जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले खोजीकार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
उनलाई मलेसियाको कुनै पनि ठाउँमा देख्नेले उद्धार केन्द्र मलेसिया वा नेपाली दूतावासलाई जानकारी गराइदिन पनि अपिल गरिएको जनउद्धार केन्द्र अध्यक्ष थापाले बताए । यसैगरी, महोत्तरी औरही नगरपालिका–२ निवासी राम लोचन महतोको छोरा चौठी महतो पासपोर्ट नम्बर (०९०२६९९८) पनि मलेसियामा बेपत्ता भएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार रोज एम्पोइमेन्ट सर्भिसेज म्यानपावरमार्फत मलेसियाको मेंटरा एसडीएन बीएचडी कम्पनीमा काम गर्न २०७४ सालमा आएकोमा कम्पनी छोडेर परिवारसँग सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।
उनलाई फेला पारेको अवस्थामा परिवारको सम्पर्क नम्बर ९८१४८६०२५९ (श्रमण महतो दाजु) अथवा दूतावासले उपलब्ध गराएको सम्पर्कमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरीदिन कल आउने गरेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाको भनाइ छ ।
‘हामी जुन देशमा छौं, त्यो देशको कानुनको पालना गर्नु हामी सबैको दायित्व हो, कानुन पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न पनि तयार हुनुपर्छ,’ सचिव बुढथापाले भने । साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै करणवश त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।
वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।
विदेशी भूमिमा हराइरहेका कामदार’bout पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij