२०८२ माघ १२ गते सोमवार
काठमाडौं । काँही नभएको जात्रा हाँडीगाउमा भने झैँ गरि नेकपाको बिबादमा संसद् सचिवालयले रमिता देखाएको छ सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानूनी रूपमा विभाजन नभएपनि संघीय संसद् सचिवालयले दुई जना मुख्य सचेतकलाई इन्धन र गाडी सुविधा उपलब्ध गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गते देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई मुख्य सचेतक नियुक्त गरेका थिए ।नेकपा संसदीय दलका नेता ओलीले मुख्य सचेतक नियुक्त गरेको पत्र पठाएलगत्तै सचिवालयले भट्टराईलाई सवारी साधन, इन्धन र छुट्टै कोठा उपलब्ध गराएको छ ।
मुख्य सचेतक गुरुङले पनि गाडी र इन्धन सुविधा लिइरहेका छन् । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसदीय दलको नेताबाट ओलीलाई हटाएको जानकारी संसद् सचिवालयलाई गराइसकिएको बताएको छ ।
‘संक्रमणकालीन अवस्था भएकाले एकले अर्कालाई कारवाही गरेपनि निर्वाचन आयोगको निर्णय कुरेर बसेका छौं,’ सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले आइतवार भने । आयोगले विवाद नटुंग्याउँदासम्म दुवै जनालाई सुविधा उपलब्ध गराइने सचिवालयले जनाएको छ ।
नयाँ नियुक्त मुख्य सचेतक भट्टराईलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाउन भने नियमावलीको व्यवस्था बाधक रहेको सचिवालयले दाबी गरेको छ । ‘सभाबाट अनुमोदन भएपछि मात्र कार्यव्यवस्थाको सदस्य बन्ने व्यवस्था छ, सभामुखले पनि आमन्त्रण गर्न सक्ने व्यवस्था छ’ पाण्डेले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij