Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

९ वर्षमा थपियो ३ हजार ११८ किलोमिटर विद्युत प्रशारण लाइन

९ वर्षमा थपियो ३ हजार ११८ किलोमिटर विद्युत प्रशारण लाइन


  • 2.0K
    Shares

    ९ वर्षमा थपियो ३ हजार ११८ किलोमिटर विद्युत प्रशारण लाइन

    काठमाडौं । नेपालमा पछिल्लो नौ वर्षमा तीन हजार ११८ किलोमिटर लामो विद्युत प्रशारण लाइन विस्तार भएको छ ।

    लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत प्राधिकरणले प्रसारण र वितरण तर्फका पूर्वाधार विस्तार र सुधारलाई प्राथमिकता दिएको छ ।

    हाल नेपालको विद्युत प्रशारण लाइनको सवस्टेसनको क्षमता ८ हजार ८६७ एमभीए पुगेको छ । नौ वर्षअघि आर्थिक वर्ष २०७१/७२ मा सवस्टेसनको क्षमता २ हजार १३२ एमभीए मात्र थियो । आर्थिक वर्ष २०७९/८० सम्म सवस्टेसनको क्षमता ६ हजार ७३५ एमभीए बढेको विद्युत प्राधिकरणले जनाएको छ ।

    आर्थिक वर्ष २०७१/७२ मा ६६ र १३२ केभीका प्रशारण लाइन रहेकामा २०७३/७४ देखि २२० र ४०० केभीका प्रशारण लाइन पनि सञ्चालनमा छन् ।

    आर्थिक वर्ष २०७१/७२ मा २ हजार ६२४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकामा ३ हजार ११८ सर्किट किलोमिटर थपिएर आर्थिक वर्ष २०७९/८० मा ५ हजार ७४२ सर्किट किलोमिटर पुगेको छ ।

    अहिले प्रणालीमा ६६ केभीको ५१४ र १३२ केभीको ३ हजार ९७९ सर्किट किलोमिटर लामो प्रशारण लाइन छ । त्यस्तै २२० केभीको एक हजार १० र ४०० केभीको १४८ सर्किट किलोमिटर लामो प्रशारण लाइन छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समय–समय विद्युत अवरुद्ध भएको उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न र गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि प्रशारण लाइनका पूर्वाधार सुधार तथा सदृढिकरण गरिरहेको बताए ।

    स्थानीय बासिन्दाको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानको झञ्झटिलो व्यवस्थाका कारण प्रशारण लाइन विस्तारमा समस्या परेको बताए ।

    सन् २०५० सम्मको विद्युत् माग धान्ने गरी काठमाडौंलगायतका देशका प्रमुख सहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेसन संरचनाहरुको गुरुयोजना तयार पारिएको घिसिङले बताए ।

    तराई/मधेशका दक्षिण क्षेत्रमा औद्योगिक तथा सहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्गको आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माण सुरु गरेको पनि घिसिङले बताए ।

    प्राधिकरणका अनुसार, हाल विभिन्न क्षमताका २ हजार ८५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । सबैभन्दा बढी १३२ केभीको १ हजार १११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । त्यस्तै २२० केभीको ९८८ र ४०० केभीको ७५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - ०९:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij