Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

साउदीमा यातना भोगिरहेका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल

साउदीमा यातना भोगिरहेका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल


  • 1.9K
    Shares

    साउदीमा यातना भोगिरहेका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल

    काठमाडौँ । कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरी त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ ।

    साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेका उनीहरूलाई उद्धार गरी तीन महिना सेल्टरमा राखेर बुधवार स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

    कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्‍याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेण्टले उनीहरूलाई साउदी अरब पुर्‍याईएका थिए ।

    साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको दूतावासले जनाएको छ ।

    दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्किन्छु भन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् । दूतावासका अनुसार लामो समयदेखि साहुको यातना सहेका उनीहरूको अवस्था गम्भीर थियो ।

    तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधा सहित सेल्टरमा राखेको थियो । यसबीचमा दूतावासले साउदीको घरेलु कामदार कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्ताको लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो । 

    नेपाल फर्कन मिल्ने बहिर्गमन भिसा लागेपछि हिमालय एयरलाइन्स मार्फत दूतावासले बुधवार उनीहरूलाई नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको हो ।

    सरकारले प्रतिबन्ध लगाएको काममा महिलाहरूलाई विभिन्न तरिका र माध्यमको प्रयोग गरी एजेण्टहरुले गैरकानुनी रूपमा खाडीका विभिन्न देशमा पुर्‍याउने गरेका छन् । कतिपयलाई कम्पनीकै काममा भनेर लैजाने र गन्तव्यमा पुगेपछि प्रतिबन्धित घरेलु काममा लगाउने गरेको समेत पाइएको छ ।

    पछिल्लो समय यसरी लैजाने क्रम बढेको भन्दै गैरकानुनी रूपमा एजेण्टको भर परी नआउन दूतावासले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - १४:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij