२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका छन् । प्रसाईंको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका उनले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले आलोचनालाई ‘ब्राण्ड’ बनाउने क्षमता दुर्गा प्रसाईंसँग रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो । अब मिल्छ। यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’
उनले उक्त प्रक्रिया अघि बढेको सञ्चालक दुर्गा प्रसाईंलाई जानकारी भएको समेत उल्लेख गरे। भने, ‘हामीले सम्बन्धनको प्रक्रिया अघि बढाइसकेका छौं ।’
केही दिनअघि काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। उक्त निर्णय ऐनविपरीत भएको भन्दै एक सिनेट सदस्यले फरक मत राखेका थिए ।
नियमनअनुसार मेडिकले कलेजको सम्बन्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने हुन्छ। आयोगले मेडिकल कलेजको मापदण्ड तथा अन्य पूर्वाधार पुरा गरेको निश्चित भएपछि मात्र विश्वविद्यालयलाई सम्बन्धनको सिफारिस गर्छ ।
बिएन्डसीको हकमा आयोगले अहिलेसम्म सम्बन्धनको सिफारिस गरेको छैन। प्रसाई सुरुमा प्रचण्ड निकट थिए तर अहिले ओली बाट उनले अभयदान पाएका छन् ।
‘भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेले गर्छन्, उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले त मार्सीलाई ब्राण्ड बनाइदिनुभयो,’ ओलीले भने।
प्रसाईंले मार्सी बियर बजारमा ल्याउँदैछन्। नेकपा एकीकरणताका ओली र प्रचण्डलाई घरैमा मार्सी चामलको भात खुवाएको र पछि चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीको विरोध कारण उनको आलोचना भएको थियो।भाषणका क्रममा ‘अरू के के रे’ भन्दै ओलीले सोधे।
पछाडिबाट अरूले भनिदिए - माफिया ह्वीस्की। डन इनर्जी ड्रिङ्स। प्रसाईंले माफिया ह्वीस्की र डन इनर्जी ड्रिङ्स पनि बजारमा ल्याउने घोषणा गरेका छन्।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij