काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। न्यूनचापीय प्रणाली र नेपाल नजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली बदली रहनेछ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू- क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।