२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन् ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ ।
वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने रहेको स्रोतले बताएको छ । यद्यपि वार्ता टोलीको आधिकारिक नाम भने सार्वजनिक गरेको छैन ।
सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो ।
विप्लव समूहले सरकारसँग वार्ताको लागि प्रकाण्डको नेतृत्वमा धर्मेन्द्र बास्तोला र चिरन पुन सदस्य रहेको ३ सदस्यीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर हुन लागेको बताइएको छ ।
विप्लव समूहले वार्ताको लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेतारकार्यकर्ताहरूको रिहाइ हुनुपर्नेलगायतका माग अघि सार्दै आएको छ ।
सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आजै बेलुकादेखि वार्ता हुने भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन गरिसकेको छ भने विप्लव समूहले पनि वार्ता टोलीको नाम सरकारलाई टिपाएर कडा सुरक्षावीच काठमाण्डौ भित्रिएको छ ।
विप्लव नेकपाका तर्फबाट सो पार्टीमा दोश्रो वरियताका नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दिपक चलाउनेसहितको टोली वार्ताको निम्ति आइसकेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij