२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज (मंगलबार) थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको (आइपिओ) बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात् १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको साधारण सेयर निष्कासन सार्वजनिक निष्कासनको लागि छुट्याएको छ। सो मध्ये ४ करोड ९२ लाख ५० हजार रकम बराबारको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिसकेको छ।
कम्पनीले बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरी विदेशी रोजगारीमा गएका नेपालीलाई र ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता आइपिओ सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।
कम्पनीको आइपिओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार १९ गतेसम्म लम्बिनेछ।कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij