२०८२ कार्तिक १८ गते मंगलवार
                                                    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथको चन्दन, प्रसाद र रुद्राक्षको माला उपहार दिने भएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ। त्यसक्रममा उनले पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्।
कलात्मक चाँदीको बट्टाभित्र मखमलको कपडामा सजाइएको माला र प्रसाद उच्चस्तरीय भेटवार्ताका क्रममा प्रचण्डले मोदीलाई हस्तान्तरण गर्नेछन्। परराष्ट्र मन्त्रालयले माग गरेअनुसार पशुपति क्षेत्र विकास कोषले चन्दनलगायत सामग्री उपलब्ध गराएको हो।
नेपालबाट हुने उच्चस्तरीय भ्रमणका क्रममा पशुपतिको प्रसाद भारतीय राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्रीलाई पनि पठाउने गरिन्छ। यस्तो अभ्यास भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल (सन् २०१४) देखि हुँदै आएको छ।
मोदीकै इच्छाअनुसार प्रसाद लाने क्रम परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको हो। परराष्ट्रमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा पनि पशुपतिको प्रसाद भारत लाने गरिन्छ। तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली समकक्षीबाट पशुपतिको चन्दन र प्रसाद नियमित रूपमै पाउने गर्थिन्।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij