२०८२ भाद्र १३ गते शुक्रवार
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङ जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।
बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा ३२ वर्षीय मनकुमार नेम्बाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खरको छानो भएको घरमा जङ्गलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो । घरमा मृतक मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
बिहीबारदेखि नै जिल्लाको फिदिम नगरपालिका–९ को लम्जक सामुदायिक वन, फिदिम–८ को भष्मे जङ्गल र मिक्लाजुङ गाउँपालिका–८ को देउराली सामुदायिक वनमा आगलागी भएको तर सो आगलागीले नजिकका बस्ती भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । ती स्थानमा प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेको प्रनाउ खतिवडाले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij