२०८२ मंसिर १६ गते मंगलवार
मुलुक संघीयतामा गएपछि ७५३ वटै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुर्याउने सरकारको लक्ष्य थियो। लक्ष्यअनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दियो। कम्तीमा एउटा स्थानीय तहमा वाणिज्य बैंकको एउटा शाखा पुर्याउन २०७४ असार मसान्तमा उक्त निर्देशन दिइएको थियो।
तर राष्ट्र बैंकले निर्देशन दिएको पाँच वर्ष बितिसक्दा पनि बझाङको साइपाल गाउँपालिकामा कुनै पनि वाणिज्य बैंकले शाखा सञ्चालनमा ल्याएका छैनन्। हालसम्म देशभरका ७५२ स्थानीय तहमा मात्र वाणिज्य बैंकले शाखा विस्तार गरेको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।
लामो समयसम्म बैंकविहीन रहेको धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे गाउँपालिकाले गत असारमा बैंक पाएका छन्।
पोखरेलले भने, ‘सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंक पुगेका छन्। साइपालमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाइ भएको हो।’
सह–प्रवक्ता पोखरेलका अनुसार साइपालमा बैंक पुग्न अझै समय लाग्ने देखिन्छ। ‘पक्की भवन तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको जानकारी राष्ट्र बैंकले पाएको छ’, उनले भने।
हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले देशभरमा ५ हजार २९ हजार शाखा विस्तार गरेका छन्। वाणिज्य बैंकले बागमती प्रदेशमा सबैभन्दा बढी १८१० शाखा विस्तार गरेका छन् भने कर्णालीमा सबैभन्दा कम २०३ शाखा विस्तार गरेका छन्।
धेरै शाखा खोल्नेमा प्रभु, ग्लोबल र एनआईसी
देशैभर सबैभन्दा बढी शाखा प्रभु र ग्लोबल आईएमई बैंकले खोलेका छन्। उनीहरु दुवैले ३६५/३६५ शाखा खोलेका छन्। प्रभुले ६१ र ग्लोबलले ६५ जिल्लामा शाखा खोलेको जनाएका छन्।
त्यसबाहेक ३५९ शाखा विस्तार गरेको एनआईसी एसियाले ७३ जिल्लामा पुगेको जनाएको छ। यता कुमारी बैंकले पनि ३४५ शाखा विस्तार गरेको उल्लेख गरेको छ। उसले ७४ जिल्लामा उपस्थिति जनाएको छ।
कृषि विकास बैंकले कुल २८० शाखामार्फत ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले पनि ७७ वटै जिल्लामा २७० शाखा विस्तार गरेको छ।
नेपाल बैंकले भने ७१ जिल्लामा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले सुदूरपश्चिमका ३ जिल्ला बैतडी, बाजुरा, डोटी र कर्णाली प्रदेशका कालिकोट, मुगु र हुम्लामा शाखा विस्तार नगरेको नेपाल बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले बताए।
माछापुच्छ्रे बैंकले १६५ शाखामार्फत ५७ जिल्लामा सेवा प्रदान गरिरहेको छ। एभरेष्ट बैंकले १२४ शाखामार्फत ४६ जिल्लामा, सिटिजन्स बैंकले १८१ शाखाबाट ५१ जिल्लामा, सनराइज बैंकले १३९ शाखामार्फत ५२ जिल्लामा सेवा प्रदान गर्दै आइरहेको छ।
नबिल बैंकसहित ८ वाणिज्य बैंकको शाखा ६० बढी जिल्लामा विस्तार गरेका छन्। त्यसैगरी आठ वाणिज्य बैंकले ५० बढी जिल्लामा र दुई वाणिज्य बैंकले ५० भन्दा कम जिल्लामा शाखा विस्तार गरेका छन्।
| वाणिज्य बैंक | शाखा संख्या | जिल्ला |
| एनएमबी | २०६ | ५४ |
| सिद्धार्थ | १९५ | ५५ |
| कुमारी | ३४५ | ७४ |
| लक्ष्मी | १४४ | ४९ |
| माछापुच्छ्रे | १६५ | ५७ |
| एभरेष्ट | १२४ | ४६ |
| नेपाल एसबीआई | ११४ | ५६ |
| हिमालयन | १८९ | ६३ |
| स्ट्यान्डर्ड चार्टर्ड | १२ | ५ |
| नबिल | २४९ | ६० |
| सिटिजन्स | १८१ | ५१ |
| प्राइम कमर्सियल | १८८ | ५४ |
| सनराइज | १३९ | ५२ |
| कृषि विकास | २८० | ७७ |
| सानिमा | १३० | ५१ |
| नेपाल | २०८ | ७१ |
| ग्लोबल आईएमई | ३६५ | ६७ |
| एनआईसी एसिया | ३५९ | ७३ |
| प्रभु | ३६५ | ६१ |
| राष्ट्रिय वाणिज्य | २७० | ७७ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | २९६ | ६४ |
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij