२०८२ भाद्र ३ गते मंगलवार
डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा केआईसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।
घाइते हुनेमा केआईसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ। सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ।
सुप प्र ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो। जिपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्भ गरेर दिपायलबाट केआईसिंह जाँदै गर्दा जिप दुर्घटना भएको हो। रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij